
सशस्त्र प्रहरी बल (एपीफ) नेपालले सीमा क्षेत्रमा हुने चोरी पैठारी नियन्त्रणलाई तीव्रता दिएको छ । एपीफले पछिल्लो २४ घण्टामा अढाई करोड भन्दा बढीको अवैध सामान तथा गाडी बरामद गरेको छ ।
सोमवार बिहान १० बजेदेखि मंगलवार बिहान ८ बजेसम्म देशभरिको सीमा क्षेत्रबाट २ करोड ५६ लाख ८४ हजार ४ सय २ रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा गरिएको एपीएफले जनाएको छ ।
प्रहरीले दिएको जनानकारी अनुसार कोशी प्रदेशबाट ४ लाख ८६ हजार ६ सय, मधेश प्रदेशबाट २ करोड ३६ लाख २८ हजार ८ सय १२, लुम्बिनीबाट १० लाख ७६ हजार ५५, सुदूरपश्चिम प्रदेशमा ४ लाख ९२ हजार ९ सय ३५ रुपैयाँ बराबरको सामग्री बरामद गरिएको छ ।
बरामद भएका सामानहरुमा भन्सार छलि गरेर ल्याइएका, शंकास्पद कागजपत्र भएका ट्रक, हार्डवेयरका सामान, लत्ताकपडा कस्मेटिकलगायत रहेका छन् । बरामद भएका सामग्री आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय तथा सम्बन्धित भन्सार कार्यालयमा बझाइएको एपीएफका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
