०१ असार २०८३, सोमबार

आगो निभाउने क्रममा जलेर पाँच जना गम्भीर घाइते

बैशाख २६, २०८०
आगो निभाउने क्रममा जलेर पाँच जना गम्भीर घाइते

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर पाँच जना गम्भीर घाइते भएका छन् ।

भूमिकास्थान नगरपालिका–२ तिरतिरे जङ्गलमा लागेको आगो स्थानीय बस्तीको पदम बेल्वासेको घरमा सल्किएपछि निभाउने क्रममा ५ जना गम्भीर घाइते भएका हुन् । घाइते पाँच जनालाई जिल्ला अस्पताल सन्धिखर्कमा प्राथमिक उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालले बताए ।

आगलागीमा परी भूमिकास्थान–२ तिरतिरेका ५५ वर्षीय पदम बेल्वासे, ३६ वर्षीय माधव बेल्वासे, ५२ वर्षीय घनश्याम बेल्वासे, ७२ वर्षीय पीताम्बर बेल्वासे र २६ वर्षीया अस्मिता बेल्वासे घाइते भएका हुन् । आगोले पदम बेल्वासेको घर पनि जलेर नष्ट भएको प्रहरी प्रमुख रिजालले बताए ।
घाइतेका शरीरका विभिन्न भाग जलेका प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा लिएसँगै अन्य घर जोगाउन सफल भएको वडा नम्बर २ का वडाध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्