
पश्चिम बागलुङका अधिकांश गाउँमा अहिले पनि केन्द्रीय प्रसारण लाइनको विद्युत पुगेको छैन । स्थानीय लघु जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीकै भरमा स्थानीयवासी छन् ।
तमानखोला गाउँपालिका–६ नर्जाखानीमा पनि स्थानीयवासी वर्षौँदेखि लघु जलविद्युत् आयोजनाकै बिजुलीमाथि निर्भर छन् । तर लघु जलविद्युत् आयोजना हिउँदको समय खोलामा पानीको बहाव घट्ने हुँदा विद्युत् आपूर्ति हुन नसक्ने र बर्खामा नहर नै बगाइदिने गर्दा स्थानीय मारमा पर्दै आएका छन् । विद्युत् नियमित नहुँदा वडा कार्यालयबाट प्रवाह हुने सेवासमेत प्रभावित हुने गरेको छ ।
वडा कार्यालयमा कम्प्युटर, प्रिन्टरदेखि आवश्यक सबै इलेक्ट्रोनिक सामान छन् । तर विद्युत् आपूर्ति हुन नसक्दा हस्तलिखित सेवा प्रवाह गर्नुपर्ने बाध्यता छन् । आधुनिक प्रविधिको विकासले कामकाजलाई छिटो–छरितो बनाए पनि विद्युत्को समस्याका कारण प्रविधिदेखि टाढा हुनुपरेको तमानखोला गाउँपालिका–६ का अध्यक्ष चित्रबहादुर छन्त्यालले बताए ।
उक्त वडामा नर्जाखानी, भित्रिवन र पात्ले गरी तीनवटा बस्ती छन् । तीनवटै बस्तीमा तीनवटै साना लघु जलविद्युत् आयोजनाको बिजुली छ । तर हिउँदको समयमा खोलामा पानी कम हुँदा एउटा बत्तीसमेत बाल्न गाह्रो हुने गरेको छन्त्यालले बताए ।
नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले नर्जाखानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले छ महिनाभित्र नर्जाखानीमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिने बताए ।