
नेकपा (एमाले)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन गरेको छ ।
एमाले महासचिव शंकर पोखरेलले बुधवार विज्ञप्ति जारी गर्दै प्रकरणको अनुसन्धान र कानूनी कारबाहीको अन्तिम टुंगो नलागेसम्म निलम्बन गरिएको जानकारी गराएका हुन् ।
मंगलवार बसेको सचिवालय बैठकले रायमाझीलाई 'आत्मसमर्पण' गर्न निर्देशन दिएको थियो । तर, उनी सम्पर्कमा नआएपछि एमालेले निलम्बन गरेको हो ।
पक्राउ पूर्जी जारी हुनासाथ उहाँलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको थियो । उहाँले नेतृत्वलाई यस विषयमा सहमति पनि जनाउनु भएको थियो,' विज्ञप्तिमा भनिएको छ, 'तर पार्टी नेतृत्वलाई दिएको विश्वासविपरीत उहाँ सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई हिँजो बसेको केन्द्रीय सचिवालयको बैठकले गंभीरतापूर्वक लिँदै उहाँलाई अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको थियो । केन्द्रीय सचिवालयको निर्णयलाई समेत ध्यानमा राख्दै राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यस सम्बन्धी अनुसन्धान र कानुनी कारवाहीको प्रक्रियाको अन्तिम टुङ्गो नलागेसम्म पदबाट निलम्बन गरिएको जानकारी गराइन्छ ।'
रायमाझीका छोरा सन्दीप गत बिहीवार रुपन्देहीमा पक्राउ परेका थिए । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले बुधवार बिहान पक्राउ गरेको छ ।

यो पनि
ओलीलाई नै चक्मा दिएर भागेपछि टोपबहादुरलाई निलम्बन गर्ने एमालेको तयारी