
तत्कालीन गृहमन्त्री एवं कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणलाई नक्कली शरणार्थीसम्बन्धी गिरोहका सदस्यहरूले पैसा पठाएको प्रमाण फेला पारेपछि प्रहरीले पक्राउ गरेको पाइएको छ ।
गृहमन्त्रालय स्रोतका अनुसार मनी ट्रान्सफरमार्फत खाँणलाई गिरोहका सदस्यहरूले पैसा पठाएको भेटिएको हो । कति रकम पठाइएको हो भन्नेबारे भने यकिन विवरण सार्वजनिक गरिएको छैन ।
'बिचौलियाले तत्कालीन गृहमन्त्री खाँणको खातामा मनी ट्रान्सफरमार्फत रकम पठाएको प्रमाण भेटिएपछि मात्र उनलाई पक्राउ गरिएको हो,' गृह स्रोतले लोकान्तरसँग भन्यो ।
त्यसबाहेक बिचौलियाहरूसँगको उठबस, 'कल डिटेल्स' लगायतका महत्त्वपूर्ण प्रमाणसमेत प्रहरीले संकलन गरेको छ ।
तत्कालीन गृहसचिव टेकनारायण पाण्डे तथा गिरोहका अन्य सदस्यले दिएको बयानलाई पनि प्रहरीले प्रमाणकारूपमा लिएको छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनका लागि तल बिचौलियाले रकम उठाएर तत्कालीन गृहमन्त्री, गृहसचिवलगायत उच्चपदस्थ व्यक्तिहरूलाई बुझाएको पाइएको हो ।
गृहस्रोतका अनुसार नेपाल प्रहरीले पूर्व गृहमन्त्री रामबहादुर थापा 'बादल', उनका छोरा प्रतीक थापा र पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ'का छोरा दीपेश पुनका सम्बन्धमा समेत अनुसन्धान गरिरहेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा, तत्कालीन गृहमन्त्री खाँणकी पत्नी मञ्जु खाँण, पूर्व गृहसचिव महेश्वर न्यौपानेलगायत प्रभावशाली व्यक्तिहरू समेत अनुसन्धानको दायरामा छन् ।
'छानबिनको दायरामा धेरै ठूला नेता, तिनका श्रीमती, छोरा, स्वकीय सचिवदेखि गृह प्रशासनका तत्कालीन कर्मचारीहरू पनि छन्,' स्रोतले लोकान्तरसँग भन्यो, 'ज-जसका विरुद्ध प्रमाण भेटिन्छ ती सबैविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिएर अनुसन्धान अगाडि बढाउँछ ।'
पछि नहट्ने गृहमन्त्रीको अडान
हाई-प्रोफाइल समेत मुछिएको यस प्रकरणमा कुनै पनि हालतमा पछाडि नहट्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठको अडान छ ।
'यतिका हाई-प्रोफाइल नेतादेखि कर्मचारीहरू पक्राउ परिसकेपछि पछाडि हट्ने कुरै हुँदैन,' मन्त्री श्रेष्ठनिकट स्रोतले लोकान्तरसँग भन्यो, 'सरकार ढले पनि ढलोस्, सडकमै जानुपरे पनि केही छैन, यी सबै परिस्थितिका लागि तयार भएर अगाडि बढेको हो भन्ने उहाँको अडान छ ।'
खाँण पक्राउ परेपछि नेपाली कांग्रेसका युवा नेताहरू गुरुराज घिमिरे, मधु आचार्य, डा. गोविन्दराज पोखरेल, रञ्जित कर्णलगायतले बुधवार गृहमन्त्री श्रेष्ठलाई भेटेर बधाई दिएका छन् ।
उनीहरूले कुनै आग्रह पूर्वाग्रह नराखी, पार्टी नहेरी दोषीमाथि कारवाही गर्न आग्रह गरेका थिए । जवाफमा गृहमन्त्री श्रेष्ठले दोषीलाई नछाड्ने, निर्दोष नफस्ने कुरामा आश्वस्त पारे ।
'यो भ्रष्टाचार मुद्दा मात्रै होइन, ठगी हो । माथिदेखि तलसम्म सेटिङ मिलाएर गरिएको अपराध हो,' श्रेष्ठले भने, 'यति मात्र हैन, यो राज्यविरुद्धको अपराध पनि हो । यसले राज्यलाई कमजोर बनाउने, राज्यको प्रतिष्ठालाई कमजोर बनाउने काम गरेको छ । यो सामान्य भ्रष्टाचार मुद्दा हुँदै होइन ।'
निर्दोषलाई नछुने र दोषीलाई कुनै हालतमा नछाड्ने बताएका श्रेष्ठले अगाडि भने, 'दोषी कुन पार्टीको हो, कुन घरानाको हो, कोसँग साइनो सम्बन्ध छ, त्यो राज्यको सरोकारको विषय होइन । राज्यको सरोकारको विषय भनेको ऊ दोषी हो कि होइन भन्ने मात्र हो । त्यसकारण दोषी जो कोही भए पनि कानूनको कठघरामा ल्याइनेछ ।'
यस प्रकरणमाथिको छानबिनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि दरिलो साथ रहेको उनले खुलाए ।
'सम्माननीय प्रधानमन्त्रीज्यूले मलाई प्रोत्साहित गर्नुभएको छ । आडभरोसा दिनुभएको छ । आवश्यक निर्देशनहरू दिइरहनुभएको छ,' उनले थपे, 'हिजो मात्र सबै दलका प्रमुख नेताहरूसँगको भेटमा पनि मैले कोही दोषी छुट्दैन र निर्दोष फस्दैन भनेको छु ।'
यस प्रकरणमा हालसम्म १२ जना पक्राउ परिसकेका छन् भने अन्य विभिन्न व्यक्तिहरूका विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पछिल्लोपटक पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनका निजी सचिव नरेन्द्र केसी पक्राउ परेका छन् ।
प्रहरीले यसअघि बहालवाला सचिव एवं पूर्व गृहसचिव टेकनारायण पाण्डे, गोविन्द चौधरी, रामशरण केसी, केशव दुलाल र सानु भण्डारीलाई पक्राउ गरिसकेको छ ।
त्यस्तै पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सन्देश शर्मा, सागर राई, टंककुमार गुरूङ र टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पनि पक्राउ परिसकेका छन् ।
प्रहरीले पक्राउ पुर्जी जारी गरे पनि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने अझै फरार छन् ।