
अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोतको सीमितता भएकाले सबै ठाउँमा बजेट नछर्ने बताएका छन् ।
बुधवार प्रतिनिधिसभा बैठकमा प्रि–बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले भने सबै ठाउँमा दिएको भनेर कनिका छरे जस्तो गरी बजेट नछर्ने बताए ।
उनले आफूलाई बजेट छर्न दबाब रहेको भए पनि आफूले त्यस्तो नगर्ने संकेत गरे । उनले एउटा आर्थिक वर्षमा एउटा काम देखिने गरी गर्नुपर्ने बताए । उनले सरकारसँग स्रोतको सुनिश्चितता रहेकाले स्रोत सुनिश्चिता अनुसार काम गर्नुपर्ने अवस्था रहेको बताए ।
अर्थमन्त्री महतले बजेटमा क्षेत्रगत मात्रै प्राथमिकता नभएर अब क्षेत्रगतभित्र पनि प्राथमिकता तोक्न आवश्यक रहेको बताए । उनले जनताका आवश्यकताहरू थुप्रै रहेका बताए । अहिले सरकारलाई बजेटको चुनौती भनेकै महत्त्वकांक्षा र आवश्यकताहरू धेरै भएको भन्दै उनले साधनस्रोतको सीमिततामा बस्नुपर्ने अवस्था रहेको बताए ।
उनले थोरै साधन र स्रोतले धेरै आवश्यकता र महत्त्वकांक्षालाई कसरी पूर्ति गर्ने भन्ने चुनौती सरकारलाई रहेको बताए । उनले सांसदहरूबाट समेत योजना माग भई आउने र बजेट छर्ने दबाब रहेको उल्लेख गरे । उनले जनताको आवश्यकता, बाटो, खानेपानी, शिक्षा स्वास्थ्यको माग गर्नु स्वाभाविक भए पनि स्रोतको सीमितता भएकाले सबैतिर बजेट नछर्ने सरकारको योजना रहेको बताए ।
उनले भने, ‘बजेटमा क्षेत्रगत मात्रै प्राथमिकताका कुरा गरेर हुँदैन । क्षेत्रगत पनि प्राथमिकता तोकिनुपर्छ । अब बजेट छर्ने ? यद्यपि अहिले पनि दबाब छ । स्वभाविकै हो हाम्रो आवश्यकताहरू थुप्रै छन् । बजेटको चुनौती भनेकै महत्त्वकांक्षा र आवश्यकताहरू धेरै हुनु तर साधन र स्रोतको सीमितता रहनु रहेको छ । थोरै साधनस्रोतले धेरै आवश्यकता र महत्त्वकांक्षालाई कसरी पूर्ति गर्न भन्ने चुनौती छ । सांसदहरूबाट समेत योजनाहरू माग भई आउने र बजेट छर्ने दबाब रहेको छ । माननीयज्यूहरूलाई पनि दबाब छ । स्वाभाविक रूपमा माग आइराखेको छ । जनताको आवश्यकता, बाटो, खानेपानी, शिक्षा, स्वास्थ्यको आवश्यकता छ । माग गर्नु स्वभाविक हो तर स्रोतको सीमितता भएकाले सबैतिर बजेट नछर्ने सरकारको योजना रहेको छ । सबै ठाउँमा दिएका छौं भनेर कनिका छरे जसरी बजेट नछरौं । एउटा गरौं, देखिने गरी गरौं । अर्को वर्ष अर्को गर्छ भन्नुको विकल्प छैन ।’
उनले सरकार आगामी बजेटमा जनतामा राज्यप्रतिको भरोसा र भविष्यप्रति आशा जगाउनेतर्फ उन्मुख हुने गरी बजेट ल्याउने प्रतिबद्धता जनाए । उनले वर्तमान समस्या र चुनौती समाधान गरी राज्यप्रति जनताको भरोसा टुट्न नदिन सरकारले गम्भीरताका साथ अग्रसर रहेको बताए । उनले कसिलो राष्ट्र बैंकको मौद्रिक नीति र अर्कोतर्फ सरकारबाट पुँजीगत खर्च हुन नसक्दा अर्थतन्त्रमा शिथिलता आएको दाबी गरे । उनले अर्थतन्त्रलाई चलायमान गराउने उपाय खोज्ने बताए ।
उनले अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति र वित्त नीतिको तारतम्य एउटै गन्तव्यमा हिँड्नुपर्ने बताए । उनले राष्ट्र बैंकले मौद्रिक नीतिलाई खुकुलो बनाउनुपर्ने बताए । उनले पुँजीगत खर्च बढाउन सरकारको स्रोत सीमित रहेको बताए । उनले राज्य प्रणालीमा समस्या भएकाले लक्ष्य अनुसारको पुँजीगत खर्च नभएको भन्दै अब ९ महिनासम्म सुतेर बस्ने प्रचलनको अन्त्य गरिने बताए ।
उनले भने, ‘जनतामा राज्यप्रतिको भरोसा र भविष्यप्रति आशा जगाउनेतर्फ उन्मुख हुने सरकारको प्रतिबद्धता हो । यो वर्ष नै सम्पूर्ण कुरा समाधान भएर समस्या सम्बोधन हुन्छ भनेर दाबी गर्दिनँ तर अर्थमन्त्रीको हैसियतले र सरकारको तर्फबाट यसतर्फ गम्भीरताका साथ अग्रसर हुन्छौं । मेरो प्रतिबद्धता हो । कसिलो राष्ट्र बैंकको मौद्रिक नीति र अर्कोतर्फ सरकारबाट पुँजीगत खर्च नहुनुले अर्थतन्त्रमा सिशथलता ल्यायो । अर्थतन्त्रलाई चलायमान गराउने उपाय के हो ? आशा कसरी जगाउने ? मौद्रिक नीति र वित्त नीतिको तारतम्य एउटै गन्तव्यमा हिँड्नुपर्यो । हिँड्नुपर्छ भन्ने मेरो भनाइ हो । मौद्रिक नीतिलाई खुकुलो बनाउनुपर्छ । खुकुलो बनाउँदा ब्याजदर कम हुन्छ । ब्याजदर कम हुँदा उद्योग व्यवासायमा ऋण लिन चाहन्छन् । उनीहरूको लागि सहज हुन्छ । उद्योगको लागत कम हुन्छ । त्यसले अर्थतन्त्रको गतिविधि बढ्छ । पुँजीगत खर्च बढाउन सरकारको स्रोत सीमित छ । लिमिटेसनभित्र बसेर काम गर्नुपर्छ । त्यसमा कति रबर तान्न सकिन्छ, त्यति तान्ने हो । बढी तान्यो भने त्यो चुडिन्छ । लक्ष्य अनुसारको पुँजीगत खर्च भएको छैन । हाम्रो राज्य प्रणालीमा समस्या छ । ९ महिनासम्म सुतेर बस्ने प्रचलनको अन्त्य हुन्छ ।’