२४ जेठ २०८३, आइतबार

बाख्राको दूधबाट चीज उत्पादन

बैशाख २८, २०८०
बाख्राको दूधबाट चीज उत्पादन
प्रतिकात्मक तस्वीर

स्याङ्जाको भीरकोट–८ ओकादीका डिलबहादुर गुरुङले बाख्राको दूधबाट चीज उत्पादन थालेका छन् ।

१० वर्षअघि ‘जुना बाख्रापालन फार्म’ दर्ता गरी सानन जातका बाख्रा पाल्न थालेका उनले २ हप्तादेखि चीज उत्पादन शुरू गरेका हुन् ।

गुरुङले दैनिक ५ लिटर दूधबाट चीज बनाउँदै आएका छन् । उनको फार्ममा २७ माउ तथा २३ पाठापाठी गरी हाल ५० बाख्रा रहेका छन् । २७ माउमध्ये अहिले १० वटाले दूध दिन्छन् ।

भैंसी तथा गाईको दूधबाट चीज बनाइरहेका बेला गुरुङले स्याङ्जामा नै पहिलो पटक बाख्राको दूधबाट चीज उत्पादन थालेका हुन् । स्थानीय खरीको माउ र विदेशी सानन जातको बोकाबीचमा क्रस गराइएको छ ।

दूध उत्पादन गर्ने, उत्पादित दूधबाट चीज र साबुन बनाउने उनको लक्ष्य छ ।

‘ठूला होटलमा बाख्राको दूधबाट बनेको चीजको माग बढी हुने भएकाले उत्पादन थालेको हुँ,’ उनले भने, ‘भर्खरै उत्पादन थालेको छु, अहिले उत्पादन भएको बिक्री भइरहेको छ, उत्पादन वृद्धि गरे बजारको खोजी गर्नुपर्ने हुन्छ ।’

बाख्राको दूधबाट चीज बनाउनेसम्बन्धी सीप गुरुङले तनहुँको बन्दीपुरमा सिकेका हुन् । २ वर्षअघि चीज बनाउने सीप सिकेपश्चात् घरमै प्रयोगात्मक परीक्षण गरेर व्यावसायिक उत्पादन थालेको उनी बताउँछन् ।

‘अहिले उत्पादन भएको चीज स्थानीयस्तरमै प्रतिकिलो २ हजारका दरले बिक्री भइरहेको छ,’ गुरुङले भने, ‘अब यसलाई गुणस्तर, प्याकेजिङ र ब्राण्डिङ गरी बजार पठाउने तयारीमा छु ।’

भारतमा रेडियो र टेलिभिजन मर्मत तथा वायरिङसम्बन्धी तालिम लिई काम गर्दै आएका गुरुङ स्वदेशमै फरक ढंगको व्यवसाय थाल्ने लक्ष्यसहित घर फर्किएका थिए । बाख्रापालन सम्बन्धी तालिम लिएका गुरुङ भन्छन्, ‘मासु तथा पाठापाठी खरिद बिक्री त सबैले गर्छन्, अरुले भन्दा फरक खालको ब्यवसाय गर्ने हुटहुटीले दूधालु सानन जातका बाख्रापालन गर्ने निचोडमा पुगेको हुँ, अहिले राम्रै गरेछु भन्ने लागेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्