२२ जेठ २०८३, शुक्रबार

चितवन राष्ट्रिय निकुञ्जद्वारा राप्ती बगरबाट गोहीका २५९ अण्डा संकलन

बैशाख २८, २०८०
चितवन राष्ट्रिय निकुञ्जद्वारा राप्ती बगरबाट गोहीका २५९ अण्डा संकलन

चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदी किनारबाट गोहीका २५९ अण्डा संकलन गरेको छ ।

बगरमा भेटिएकामध्ये ९ वटा गुँडबाट अण्डा संकलन गरिएको हो ।
 
खोजीको क्रममा भेटिएका थप ६ वटा गुँडका अण्डा छाडिएको छ । गोही प्रजनन केन्द्र हेर्दै आएका सहायक संरक्षण अधिकृत सान्तबहादुर मगरका अनुसार ९ वटा गुँडमध्ये एउटा गुँडका १७ वटा अण्डा छिरलिएको अवस्थामा भेटिएका थिए । राप्ती नदीको खोरसोर घाटबाट सीतामाई घाटसम्म अण्डा संकलन गरिएको हो ।
 
गोही प्रजनन केन्द्रमा ती अण्डा ल्याएर बालुवाभित्र चल्ला कोरल्नका लागि राखिएको छ । जेठ १५ गतेपछि साउनसम्म ती अण्डाबाट बच्चा कोरल्ने गरिन्छ । प्रजनन् केन्द्रका ३ वटा गुँडमा गोहीले अण्डा पारेको छ । मगरका अनुसार गत २ वर्ष प्रजनन् केन्द्रका अण्डाबाट बच्चा कोरलिएका छैनन् । प्रजनन केन्द्रमा २ वटा भाले रहेका छन् । भालेमा समस्या भएका कारण अण्डाबाट बच्चा नकोरलिएको अनुमान गरिएको छ ।
 
प्रजनन केन्द्रमा गोहीको संख्या बढी भएपछि यस वर्ष अण्डा थोरै मात्र संकलन गरिएको हो । गत वर्ष ५६३ वटा अण्डा संकलन गरिएको थियो । ती अण्डाबाट ४९६ बच्चा कोरलिएका थिए । यसरी कोरलिएका बच्चा बचाउन निकै जटिल हुने गर्दछ । हालसम्म आइपुग्दा तीमध्ये ३०० हाराहारी मात्रै जीवित छन् ।
 
मगरले प्रजनन केन्द्रमा ६४० साना ठूला गोही रहेको भन्दै थोरै मात्र अण्डा संकलन गरिएको बताए । निकुञ्जले विक्रम संवत् २०३५ सालमा गोही प्रजनन केन्द्र स्थापना गरी प्रजनन् केन्द्रमा हुर्काइएका गोहीका बच्चा नदीमा छाड्दै आएको छ । हरेक वर्ष बाढीले बगाएर गोही भारत पुर्‍याउने गर्दछ । यद्यपि संरक्षण कार्यलाई निकुञ्जले निरन्तरता दिएको छ । राप्ती नदी गोहीका लागि राम्रो मानिएको छ ।
 
प्रजनन केन्द्रमा हुर्काएर हालसम्म १ हजार ८५२ वटा गोही विभिन्न नदीमा छाडिसकिएको छ । तीमध्ये सबैभन्दा बढी राप्तीमा १ हजार १३२ वटा गोही नदीमा छाडिएको छ । नारायणीमा ४१९, बबईमा ११०, सप्तकोशीमा ११५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ गोही छाडिएका छन् । 

पछिल्ला दिनहरूमा अन्य नदीमा संरक्षण हुन नसकेपछि अधिकांश गोही राप्ती र नारायणीमा मात्रै छोडिँदै आएको छ । नदी प्रदूषण रोक्न, जथाभावी नदीजन्य पदार्थ उत्खनन् नगर्न र ठूला जाल प्रयोग नगर्न निकुञ्जले आग्रह गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्