जेठ १४, २०८०
नक्कली शरणार्थी प्रकरणमा निकटस्थहरू नै मुछिएको आशंका उत्पन्न हुँदा अस्वाभाविक मौनता साँधेका कांग्रेस, एमाले र माओवादीका शीर्ष नेतालाई पशुपतिको जलहरी प्रकरणले अर्को विवादमा तानेको छ । नेपालीलाई नक्कली ...
काठमाडाैं | बैशाख २८, २०८०
कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र बालकृष्ण खाँण नै नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेपछि सबै क्षेत्र तरंगित हुन पुगेको छ ।
प्रचण्ड नेतृत्वको सरकारको सबैभन्दा ठूलो साझेदार दल कांग्रेसका प्रभावशाली नेता गम्भीर ठगीमा पक्राउ परेपछि यस्तो तरंग स्वाभाविक हो ।
सत्तामा आफ्नो असीमित प्रभाव भएकै बेला देउवाका विश्वासपात्र नेता खाँण पक्राउ पर्नुले कांग्रेसभित्रका गुटमा मिश्रित प्रतिक्रिया देखिएको छ ।
बुधबार बोलाइएको पदाधिकारी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्न दबाब बढाएका थिए । तर सभापतिले महामन्त्रीद्वयको मागलाई बेवास्ता गरेको बताइन्छ ।
कांग्रेस नेताहरूका अनुसार देउवा आफैं अन्योल र दबाबमा छन् । शरणार्थी ठगी प्रकरणमा खाँणको पनि नाम विचौलियाले बयानका क्रममा लिएपछि शुरूमा यो प्रक्रिया केही दिन रोकियो । तर ,आफूले नाम लिएका नेतामाथि छानबिन नगर्ने हो भने ‘आत्मदाह’ गर्ने चेतावनी आए ।
केही अकाट्य प्रमाण भेटिए । यसैले कांग्रेस नेतृत्वले चाहेर पनि यो प्रकरणमा अनुसन्धान रोक्ने अवस्था बन्न सकेन । यतिमात्रै होइन, केही पीडित र विचौलियाले यो प्रकरणमा खाँणपत्नी मञ्जु र सभापति देउवापत्नी आरजु पनि संलग्न रहेको अप्रमाणित अडियो ल्याएपछि अर्को अन्योल थपिएको हो । यो अडियोविरुद्ध आरजुले वैज्ञानिक परीक्षण गर्न चुनौती नै दिएकी छिन् । यद्यपि देउवाको तनाव अझै कम नभएको बताइन्छ ।
‘भ्रष्टाचारको सञ्जाल यति बढेको छ कि भ्रष्टाचार नगरेको मन्त्री भेट्न गाह्रो छ । खाँणजी र टोपबहादुर मात्रै हो कि लहरो माथिसम्मै छ भन्ने प्रश्न यतिखेर सर्वत्र उठेको छ,’ कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘अनियमितता र भ्रष्टाचार सम्बन्धमा प्रधानमन्त्री, मन्त्रिपरिषद् र मन्त्रीस्तीय निर्णय पनि भएका छन् । यसैले अनुसन्धानको क्रम माथिसम्मै आइपुग्न सक्छ भन्ने डर सबै दलका शीर्ष नेतामा देखिन्छ ।’
अन्यथा देशमा युद्ध नै हुन लागेजस्तो दुस्मनी सम्बन्ध भएका कांग्रेस, एमाले र माओवादीका नेताले एकपछि अर्को म्याराथन भेटघाट नगर्ने ती नेताको विश्लेषण छ ।
खाँणको सम्बन्ध देउवासँग बिग्रेको कि आरजुसँग ?
खाँणपत्नीको अप्रमाणित अडियो आए पनि खाँणको विषयमा धेरै सूचना बाहिर ल्याइएको थिएन । नक्कली शरणार्थी बनाउने सम्बन्धमा खाँण गृहमन्त्री हुँदा गरिएका केही नीतिगत निर्णय मात्रै आएका थिए । तर, यतिकै आधारमा खाँण पक्राउ परिहाल्छन् भन्ने थिएन । यसबीचमा कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताको बैठक भने दिनहुँ बस्दै आएको थियो ।
बुधबार बिहान खाँण पक्राउ परेपछि सभापति देउवासमेत अन्योलमा परेको कांग्रेसकै नेताहरूको बुझाइ छ । खाँणपत्नी मञ्जु र आफ्नै पत्नी आरजुलाई पैसा बुझाएको भनिएको अडियोले देउवा थप तनावमा छन् ।
कतिपयले देउवा र खाँणको सम्बन्ध बिग्रिएको थियो भनिरहेका छन् । तर, भेटघाट पातलिए पनि खटपट नै हुने र सुधार नै हुन नसक्ने गरी सम्बन्ध नबिग्रिएको कांग्रेसकै एक नेताको दाबी छ ।
‘बाहिर देउवा र खाँणको सम्बन्ध बिग्रियो भनेर चर्चा गर्ने पनि छन्, तर त्यस्तो होइन । आरजुको सम्बन्ध खाँणसँग बिग्रँदै गए पनि देउवासँग बिग्रेको हो भन्ने लाग्दैन,’ ती नेता भन्छन्, ‘१४ औं महाधिवेशनमा विना सम्झौता र स्वार्थ खाँणले देउवालाई सभापतिमा उठाउने निधो गरे, आफू पदाधिकारीमा उठ्ने इच्छासमेत जनाएनन् । केन्द्रीय सदस्यमै सीमित रहे । यसैले कुनै पद र पावरमा नभएका खाँणसँग देउवाको सम्बन्ध बिग्रिएको भन्न मिल्दैन ।’
निस्वार्थ सहयोग गर्दै गए एक दिन देउवाले आफूलाई नै उत्तराधिकारीको भारी बिसाउने छन् भन्ने विश्वासमा खाँण रहेको बताइन्छ ।
देउवा–खाँण सम्बन्धको चर्चा गर्दा आरजु पनि अर्को पाटो हुन् । यसअघि डडेल्धुरामा कर्ण मल्ल र रघुवीर भट्टबीचको अन्तरद्वन्द्वमा देउवा र आरजुको रोजाइ फरक–फरक हुँदै आएको थियो । अर्थात्, एउटै समूहमा बुढाबुढीको अलग–अलग उपगुट छ ।
आरजुले पनि देउवापछि यो समूहमा सर्वेसर्वा नेताको रूपमा स्थापित हुने आकांक्षा राख्दै आएकी छिन् ।
उमेरका कारण सक्रिय राजनीतिबाट देउवा किनारातिर पुग्दै गर्दा आरजु स्थापित हुने चक्करमा छिन् । यसैले देउवाले पूर्णबहादुर खड्का वा खाँण कसैलाई पनि भित्रीरूपमा विश्वास नगरुन् र समूहको उत्तराधिकारीको भारी नबिसाउन् भन्नेमा आरजु निरन्तर सचेत रहेको नेताहरू बताउँछन् । यसैले बरु सम्बन्ध बिगार्ने तर अरूलाई देउवासामु ढिम्किन नदिने मान्यता आरजुको रहेको बताइन्छ ।
झन् खरो स्वभावका पूर्णबहादुर र बालकृष्णलाई त आरजुले जहिले पनि शंकाको नजरले हेर्ने गरेको संस्थापन पक्षका एक नेताको भनाइ छ ।
‘अहिले एकजना फस्नुभयो, तर पूर्णबहादुर दाइ र बालकृष्ण दाइ देउवा समूहमा आफ्नो कुरा निर्धक्क भएर राख्ने नेता हुनुहुन्छ । यी दुवैजना गाली खाँदा पनि चुप लाग्ने डा. महत (प्रकाशशरण महत) जस्ता होइनन्,’ ती नेता भन्छन्, ‘त्यसैले आफ्ना एस म्यानसँग नजिक हुने र खरो कुरा राख्नेसँग विस्तारै टाढाको सम्बन्ध राख्ने अभ्यास आरजुमा रहेको देखिन्छ ।’
गृहमन्त्री भएकै बेला खाँणले रुपन्देहीबाट ४ मंसिरको चुनाव हारे । यसमा खाँण पक्षले आरजुको हात रहेको भनी आरोप लगाउने गरेको छ । साथै १० पुसमा एमाले र माओवादीलाई मिल्न नदिन खाँणले प्रयत्न गरे पनि आरजु तयार नभएको बताइन्छ ।
‘खाँण खरो मिजासका नेता हुन् । १० पुसमा पनि समीकरण भत्काउन हुँदैन, प्रचण्डजीलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्नेमा हुनुहुन्थ्यो । तर, यो कुरा आरजुलाई मन परेको थिएन किनकी आरजु कम्तीमा पहिलो चरणमा देउवालाई प्रधानमन्त्री बनाउन चाहन्थिन्,’ ती नेताले भने ।
त्यसअघि खाँण गृहमन्त्री हुँदा उनकी पत्नी मञ्जु हावी भएकी थिइन् । यो कुरा आरजुलाई मन नपरेको बताइन्छ । आफ्ना केही चासोलाई खाँणले पूरा नगरेपछि आरजु थप रिसाएको कांग्रेस स्रोतको दाबी छ । तर, देउवा र खाँणबीच भने यो स्तरमा सम्बन्ध नबिग्रिएको यी दुवैलाई चिन्नेहरू बताउँछन् ।
देउवालाई श्रीमती चलाख छ भन्ने थाहा भए पनि आफू राजनीतिक उत्तरार्धमा पुग्दा जानीबुझीकन उनलाई हावी हुन दिएको चर्चा कांग्रेसमा सुनिन्छ ।
‘पछिल्ला केही वर्षयता सभापतिज्यूलाई नमस्कार मात्रै गर्न जाने हो । बाँकी सबै कुरा मिलाउने आरजु भाउजूले नै हो,’ कांग्रेसका एक नेता भन्छन्, ‘आफू राजनीतिको उत्तरार्धतिर जाँदै गर्दा सभापतिले हावी हुन दिएर आरजुलाई स्थापित गराउन खोजेको यस्ता घटनाक्रमले पुष्टि गर्छन् ।’ देउवाले दिएको यही छुटलाई आरजुले अवसरमा बदलेको कांग्रेस नेताहरूको विश्लेषण छ ।
देउवाले आफूपछिको नेतृत्व विकासमा ध्यान दिएनन् । नेतृत्व विकासको क्रमलाई फुक्काफाल छाडेपछिको ‘भ्याकुम’मा आरजु हावी हुन पुगिन् । सांसद र केन्द्रीय सदस्यपछि अब उनको आँखा १५ औं महाधिवेशनबाट पदाधिकारीमा छ । यसकै लागि आरजुले राजनीतिक माहोल बनाउन आफ्नै गुटमा खेल्दै आएकी छिन् ।
‘उमेरमा ८० पुग्न लाग्दा सभापतिज्यूले विकल्पमा नेता तयार पार्नुपर्थ्यो, तर पार्नुभएन । न विमलेन्द्र निधिलाई विश्वास गर्नुभयो, न त अहिलेका उपसभापति पूर्णबहादुर खड्कामाथि नै पूरै विश्वास गरेको देखिन्छ,’ ती नेता थप्छन्, ‘उहाँकी बाठी श्रीमतीले खेल्ने कुरा स्वाभाविक नै हो ।’
खाँण जोडिएको विषय नेपालमै हुने भ्रष्टाचार मात्र भन्दा पनि शक्ति राष्ट्रसँगै जोडिएको छ । सोही कारण पनि देउवाले खाँणलाई पक्राउ गर्नबाट रोक्न नसकेको बताइन्छ ।
तर, अहिले खाँण भने आफूलाई नबचाएको भनेर देउवासँग रिसाएको उनी निकटहरू बताउँछन् । प्रारम्भिक बयानका क्रममा आरोपीहरूले आफूभन्दा माथिका विचौलियाले गृहमन्त्री र प्रधानमन्त्रीलाई पैसा बुझाउनुपर्ने बताएका थिए भन्दा खाँणले सरकारी वकिललाई ‘नोट इट’ भनेर देउवातिर लक्षित गरेका थिए । आफूलाई बचाउन अझै थप प्रयत्न नगरे देउवा र उनकी पत्नी आरजुलाई समेत तान्ने गरी बयान दिनेसम्म पनि खाँण पुग्न सक्ने देखिन्छ ।
‘नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने विषय अरू भ्रष्टाचारजस्तो होइन । यसले नेपालको शाख गिराउने काम गरेको छ । शरणार्थी लगेका अमेरिका र युरोपियन देशको समेत सबाल हुन पुग्यो,’ कांग्रेसका एक नेता भन्छन्, ‘अपराध मात्रै भन्दा विदेशसम्मै तनाव हुने गरी अपराध भएपछि पार्टी वा नेता चाहेर पनि बचाउन सक्ने र बचाउने अवस्था नबनेको हुन सक्छ ।’
कांग्रेस सांसद रामहरि खतिवडा भने यस विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने बताउँछन् ।
‘एमालेका टोपबहादुर भाग्ने हाम्रो नेतामात्रै संलग्न भएको भनेर समात्ने भन्ने हुँदैन,’ खतिवडा भन्छन्, ‘हामी निष्पक्ष छानबिनको मागमा छौं । निर्दोष फस्ने र दोषी उम्किने हुनुहुँदैन ।’
पार्टीभित्रको प्रतिक्रिया
खाँण पक्राउपछि कांग्रेसमा मिश्रित प्रतिक्रिया देखिएका छन् ।
संस्थापनइतर पक्षमा कुनै अवसर र भूमिका नपाएका अनि किनारामा पर्दै आएको एकथरी युवाको समूहले शुरूबाटै यो घटनालाई सकारात्मक रूपमा लिएको छ । उनीहरूले खाँण पक्राउ परेको केही घण्टामै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर बधाई नै दिएका छन् ।
यो टोलीमा गुरुराज घिमिरे, डा. गोविन्दराज पोखरेल, मधु आचार्य, रञ्जित कर्ण, देवराज चालिसे, भुपेन्द्रजंग शाही, भरत खड्काजस्ता नेता छन् ।
विकृति, विसंगति र भ्रष्टाचारविरोधी अभियान चाल्दै पार्टी सुदृढीकरण अभियानको थालनी गरेका यो पक्षका नेता यो घटनापछि उत्साहित भएका छन्, किनकी गलत गतिविधि गर्ने व्यक्ति जुनुसुकै पार्टीको भए पनि अनुसन्धानको दायरामा आउनुपर्ने उनीहरूको तर्क छ ।
महामन्त्रीद्वय थापा र शर्माले निलम्बन गर्नुपर्ने विषय उठाएका छन् । बिहीवारको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा पनि यो विषयमा कुरा उठाउने तयारी नेताहरूको छ । तर कांग्रेसले खुमबहादुर खड्कामाथि ठूलो भ्रष्टाचार मुद्दा लाग्दा र प्रमाणित हुँदा पनि निलम्बन वा कारवाही गरेन । बरु खड्का महाधिवेशनमा धेरै भोट ल्याएरै जित्न सफल भए ।
अहिलेसम्म देउवा समूहमा कुनै स्पष्ट उपगुट देखिएको छैन । तर पार्टी सभापतिसम्म हुन सक्ने सामर्थ्य र संगठनमा पकड भएको नेता तानिँदा अरूलाई हाइसञ्चो भएको छ । नेतृत्वमा पुग्ने एउटा प्रतिस्पर्धी तानिँदाको फाइदा अब पूर्णबहादुर खड्का, आरजु राणा, डा. प्रकाशशरण महत, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखकजस्ता नेतालाई हुने देखिन्छ । पदाधिकारी र केन्द्रीय समितिमा देउवा पक्षको प्रभावशाली उपस्थिति छ । तर, सह–महामन्त्री महेन्द्र यादवबाहेक खाँणको बचाउमा देउवा पक्षका कुनै पनि नेताले टिप्पणी गर्न चाहेका छैनन् ।
देउवा खेमाकै शक्तिशाली नेता खाँण यो प्रकरणमा तानिएपछि पार्टीमा सुधार र रुपान्तरणको माग गर्ने इतर समूहका नेतालाई पनि थप नैतिक बल पुगेको छ ।
डा. शेखर कोइरालादेखि गगन थापा, विश्वप्रकाश शर्मादेखि प्रदीप पौडेलसम्मलाई देउवाविरोधी माहोल सिर्जना गर्न यो घटनाले थप बल दिएको बताइन्छ । आफ्नै नेता समातिए पनि यी नेताहरूले बचाउमा कुनै शब्द खर्चिएका छैनन् । बरु निष्पक्ष छानबिन गरी जुन दलका भए पनि दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
नक्कली शरणार्थी प्रकरणमा निकटस्थहरू नै मुछिएको आशंका उत्पन्न हुँदा अस्वाभाविक मौनता साँधेका कांग्रेस, एमाले र माओवादीका शीर्ष नेतालाई पशुपतिको जलहरी प्रकरणले अर्को विवादमा तानेको छ । नेपालीलाई नक्कली ...
युक्रेनको पूर्वी भागमा रहेको बाखमुत शहर लामो समयसम्म चलेको युद्धपछि रुसीहरूको नियन्त्रणमा पुगेको छ । गत शनिवार (२० मे) मा रुसको निजी सैन्य समूह वाग्नरका प्रमुख येभ्गेनी प्रिगोजिनले २२४ दिनको लडाइँपछि...
विश्वका ‘ठूला’ अर्थतन्त्रहरूको वार्षिक शिखर सम्मेलन जी७ को बैठक जापानको हिरोशिमामा आइतवार सम्पन्न भएको छ । मे १९ देखि २१ सम्म चलेको उक्त सम्मेलन पश्चिमी विश्वव्यवस्थाप्रति विमति राख्नेहरूलाई निन्दा मात्र ...
नेपाली कांग्रेसमा शरीर र स्वास्थ्यले साथ दिएसम्मै राजनीतिको उच्च पद हडप्ने पार्टी परम्परा पुरानै हो । यो अविछिन्न परम्पराविरुद्ध कुनै कालखण्डमा विद्रोह गर्ने कोही पात्र खडा भइदिए पार्टी रचनात्मक बन्छ भन्ने अपेक्षा धेरै...
नक्कली शरणार्थी प्रकरणजस्तो गम्भीर ठगीमा प्रमुख दलका प्रभावशाली नेताहरू नै तानिएपछि राजनीतिक वृत्त तरंगित छ । पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी तथा प्रमुख सत्ता साझेदार दल नेपाली का...
‘वर्तमान गठबन्धन देश सिध्याउने यात्रामा लाग्यो । (राजनीति) देश बनाउने र सिध्याउने दुई ध्रुवमा विभाजित भयो । अब देश बनाउने जिम्मा एमालेको काँधमा छ,’ दुई साताअघि वैशाख १४ गते इलाम पुग्दा एमाले ...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...