
डढेलो निभाउने क्रममा जलेर मृत्यु भएका अर्घाखाँचीका चार जनाको बिहीवार सामूहिक अन्त्यष्टि गरिएको छ ।
भूमिकास्थान नगरपालिका वडा नम्बर २ निवासी ३५ वर्षीय पदम बेल्बासे, ७२ वर्षीय पिताम्बर भुसाल, ५२ वर्षीय घनश्याम बेल्बासे र ३६ वर्षीय माधव बेल्बासेको खाकावेसी खोलामा सामूहिकरुपमा अन्तिम दाहसंस्कार गरिएको हो ।
शोकमा डुबेको भूमिकास्थानका सयौं स्थानीय दाहसंस्कारमा सहभागी थिए । जलेर गम्भीर घाइते चारै जनाको उपचारको क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको हो ।
घाइते २५ वर्षीया संगीता बेल्बासेको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको छ ।
मृतकका घरपरिवारलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनही ५० हजार रूपैयाँका दरले राहत उपलब्ध गराएको छ ।
यस्तै भूमिकास्थान नगरपालिकाले पनि मृतकका परिवारलाई जनही ५० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । भूमिकास्थान २ को तिरतिरे खोला किनारको जंगलमा मंगलवार दिउँसो आगो लागेको थियो ।