
विश्वभरका पर्यटकहरूलाई बुद्धजन्मस्थल लुम्बिनी भ्रमणको निम्तोसहित दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३ शुरु भएको छ ।
मार्टको बिहीवार लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश कुमार त्रिपाठी) ले उद्घाटन गरेका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना, नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एशोसियशनमा अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)को संयोजनमा लुम्बिनीमा तीन दिने मार्ट शुरु भएको हो । बिहीवार बिहान मायादेवी मन्दिरमा दीप प्रज्वलन र ध्यान गरेपछि शुभारम्भ भएको मार्टको उद्घाटन लुम्बिनीस्थित पवन प्यालेस होटलमा भएको छ ।
उद्घाटन समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले बुद्धजन्मस्थल लुम्बिनीबाट भ्रमण तालिका बनाउँदै बुद्धसँग सम्बन्धित साइटहरूको समेत प्रवर्द्धन गर्न आग्रह गरेका थिए । उनले भगवान बुद्धले महापरिनिर्वाण हुन अघि जीवनमा एकपटक भए पनि बुद्धजन्मस्थल लुम्बिनी पुग्दा पुण्य प्राप्त हुने शिक्षा दिएको प्रसंग उल्लेख गर्दै विश्भरका बौद्धमार्गीहरूले जीवनमा एकपटक भए पनि लुम्बिनीमा पाइला टेक्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिडका कारण सुस्ताएको पर्यटन क्षेत्रलाई बुद्धजन्मस्थल लुम्बिनीबाट चलायमान बनाउने, बुद्ध जन्मस्थलसँग सम्बन्धित यसक्षेत्रका महत्वपूर्ण स्थलहरूको प्रवर्द्धन गर्नका लागि दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्टको आयोजना गरिएको बताए ।
कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव धनबहादुर ओली, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा.धनञ्जय रेग्मी, होटल एशोसियशनमा नेपाल (हान) का अध्यक्ष विनय शाहलगायतले बोल्दै लुम्बिनीसहित नेपालका पर्यटकीय स्थल भ्रमणका लागि निम्तो दिए । उनीहरूले पर्यटनमार्फत समृद्धिको अभियानलाई सघाउ पुर्याउन सकिनेमा पनि जोड दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अधिकारीको अध्यक्षतामा बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्ट मूल आयोजक समिति गठन गरी कार्यक्रम गरिएको हो ।
मार्टमा नेपालसहित भारत, मलेसिया, चाइना, कोरिया, बंगलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलंकालगायतका देशहरूबाट २८ वटा टुर्स एण्ड ट्राभल कम्पनीहरू सहभागी छन् ।
मार्टमा विदेशी ट्राभल/टुर्स कम्पनीका प्रतिनिधिहरू, नेपाल सरकारका प्रतिनिधिहरू, नेपाल पर्यटन बोर्डका अधिकारीहरू, नाट्टा सदस्य कम्पनी पर्यटन सम्बद्ध संघ/संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको सहभागिता छ ।
शनिवारसम्म सञ्चालन हुने मार्टमा स्वदेशी तथा विदेशी विज्ञहरूद्वारा कार्यपत्र प्रस्तुतिसहितको सेमिनारको आयोजना गरिएको नाट्टाका अध्यक्ष रमेश थापाले जानकारी दिए ।
उनले नेपालको लुम्बिनीलगायत बुद्धिष्ट सर्किटको विश्वव्यापी प्रचार–प्रसारमार्फत नेपाललाई पर्यटकीय हव बनाउने बारेमा गहन छलफल र निष्कर्ष निकालिने जनाइएको छ ।
कार्यक्रमले बुद्ध जन्मस्थल र त्यससँग सम्बन्धित क्षेत्रहरूको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने नाट्टाका लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तको भनाइ छ ।
ट्राभल कम्पनीहरूलाई लुम्बिनीलाई केन्द्रमा राखेर टुर्स प्याकेज निर्माणका लागि समेत सुझावहरू दिइएको छ । साथै मार्टमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि वातावरण निर्माण गर्ने विषयमा सरकारी अधिकारीहरूले प्रतिबद्धता जनाएको नाट्टाका लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष सागर अधिकारीले जानकारी दिए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनमा ल्याएर लुम्बिनीको प्रवर्द्धनका लागि दबाब पुगोस् भनेर मार्ट आयोजना गरिएको अधिकारीले बताए ।