काठमाडौं, २० भदौ– प्रदेश नम्बर २ मा असोज २ गते हुन गइरहेको तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौटको विषयमा उत्पन्न विवादले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल विभाजनको संघारमा पुगेको छ ।
उम्मेदवार छनौटमा असन्तुष्टि जनाउँदै राजपाका सचिव गजेन्द्र मण्डलले पदबाट राजीनामा दिएका छन् । उम्मेदवार छनौटमा अध्यक्ष मण्डलका केही नेताले आफ्ना नातागोताका व्यक्तिलाई प्राथमिकता दिएको भन्दै मण्डलले राजीनामा दिएका हुन् ।
राजपाले २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौट गर्न केन्द्रस्तरबाट ३ जनाको निर्देशक समिति बनाएको थियो ।
निर्देशक समितिले सक्रिय कार्यकर्ता भन्दा पनि नेताहरुका नजिकका मान्छेलाई चुनावको टिकट दिएको मण्डलको आरोप छ ।