१४ असार २०८३, आइतबार

कतार एयरपोर्टको जागिर छाडेर स्वदेशमा बाख्रापालन

बैशाख ३१, २०८०
कतार एयरपोर्टको जागिर छाडेर स्वदेशमा बाख्रापालन
प्रतिकात्मक तस्वीर

रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका–६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लागेका छन् ।

विगतमा वर्षाैंदेखि परम्परागत शैलीमा सामान्य बाख्रा तथा भेडापालनमा लागेको बरुवाल परिवार अहिले भने नविनतम शैली र प्रविधिलाई पछ्याउँदै आधुनिक बाख्रापालनमा लागेको हो ।

उमेरले ३० वर्ष पुगेका बरुवालले ५ वर्षभन्दा बढी समय कतार एयरपोर्टमा काम गरे । त्यहाँ उनको राम्रै आम्दानी थियो भने जागिरलाई निरन्तरता दिन पनि समस्या थिएन । 
    
यता घरमा परम्परागत खेती किसानी गर्दै आएका उनका बुवा धनबहादुर बरुवाल आधुनिक शैलीमा बाख्रापालन गर्न चाहन्थे । उनको चाहनामा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआपी) सहयोगी बन्न पुग्यो ।

नेपालको पशुपालनको क्षेत्रको आधुनिकीकरण र सुदृढीकरण गर्न कृषि तथा पशुपक्षी मन्त्रालयले विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाअन्तर्गत उनको होलिडे कृषि तथा पशुपक्षी फर्ममा आधुनिक बाख्रापालनका लागि विभिन्न पूर्वाधार विकासका काम भइसकेका छन् ।

आयोजनासँगको सम्झौताअनुसार उनले व्यवस्थित खोर निर्माण, उन्नत जातको (भूइँ र डाले घाँस) लगाउने, उन्नत नश्लको पाठपाठी उत्पादनका साथै व्यवस्थित बाख्रापालनका लागि पूर्वाधार तयार गर्ने काम गरिसकेका छन् ।

लक्षित कामका लागि निर्धारित कूल ३८ लाख ७२ हजार ३०३ रुपैयाँ लागतमध्ये आयोजनाबाट ५० प्रतिशत अनुदानबापत १९ लाख २८ हजार ६५२, प्रभू बैंकको ऋण लगानी ११ लाख ७० हजार र स्वलगानी ७ लाख ७३ हजार ६५२ रहेको धनबहादुर बरुवालले जानकारी दिए ।

सम्झौताअनुसार अनुदानबापत पहिलो किस्ताको रकम प्राप्त भइसकेको र दोस्रो तथा अन्तिम किस्ताका लागि प्रक्रिया बढाइएको उनले बताए । आफूले आधुनिक शैलीमा बाख्रापालन गर्न थालेसँगै विदेशमा बसेको छोरा समेत फर्केर सहयोग गर्न थालेपछि धनबहादुरको उत्साह अझै थपिएको छ । आधुनिक बाख्रापालनका लागि एनएलएसआईपीको अनुदान थप प्रेरक बनेको उनको भनाइ छ ।

खोरमा मात्रै २९ लाख खर्च भइसकेको र करीब १८–१९ लाख बाख्रा खरिद एवं सोलार जडान आदिमा खर्च भएको उनले जानकारी दिए । बरुवाललाई छोरा नारायण, श्रीमती सोमित्राले नियमित सहयोग गर्दै आएका छन् भने १ जनाले नियमितरूपमा प्रत्यक्ष रोजगारी पाएका छन् ।

विदेशबाट फर्किएर बाख्रापालनमा लाग्दा नारायणका अघि विभिन्न प्रश्न पनि तेर्सिने गरेका छन् । दैनिक न्यूनतम एक जनाले किन विदेशको राम्रो जागिर छाडेर यस्तोमा लागेको भनेर प्रश्न गर्ने गरेको उनले जानकारी दिए ।

स्वदेशमा नै केही गर्न सकिन्छ कि भनेर विदेशको जागिर छाडेर फर्किएको अनुभव सुनाउँदै उनले जागिरको खोजीमा विदेशिएका युवाका लागि यहाँ नै केही गर्न सकिन्छ भन्ने उदाहरण बन्न चाहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्