२५ जेठ २०८३, सोमबार

ग्रामीण सडकलाई पक्की बनाउँदै बेनी नगरपालिका

बैशाख ३१, २०८०
ग्रामीण सडकलाई पक्की बनाउँदै बेनी नगरपालिका
प्रतिकात्मक तस्वीर

म्याग्दीको बेनी नगरपालिकाले ग्रामीण सडकलाई पक्की बनाउने योजना कार्यान्वयन गरेको छ ।

जिल्ला सदरमुकाम समेत रहेको नगरपालिकाको केन्द्र बेनी बजारबाट वडा कार्यालय र मुख्य बस्ती जोड्ने सडकमा बाह्रै महिना नियमित र सुरक्षित सवारीसाधन सञ्चालनका लागि पक्की बनाउने योजना अघि बढाएको छ ।

ग्रामीण सडकले हिउँद र बर्खा दुवै याममा दुःख दिइरहन थालेपछि पछिल्लो समय त्यस्ता सडकलाई पक्की बनाउने अभियान थालिएको नगर उपप्रमुख ज्योति लामिछानेले बताइन् । ‘नगरपालिकाका १० वटै वडाका सबै बस्तीमा सडक पुगिसकेको छ । यसअघिका वर्षमा मार्ग खोल्ने, सोलिङ र विस्तारको काम धेरै भएका थिए,’ उनले भनिन्, ‘यस वर्षदेखि ग्रेड नमिलेका सडकका घुम्ती ढलान गर्ने, पक्की नाली, कल्भर्ट र कजवे बनाएर वर्षैभरि सवारी चल्न सक्ने बनाउने काम शुरू गरेका छौं ।’

सडक बनाएको भन्दा वर्षात्मा पहिरो नियन्त्रण र बर्सेनि मर्मत गर्न लाग्ने खर्च बढी आउन थालेपछि यो नीति लिइएको हो । अधिकांश ग्रामीण सडकमा पहिरो खसेर बालीनाली समेत नष्ट हुने क्रम रोक्न यो विधि अपनाइएको नगर उपप्रमुख लामिछानेको भनाइ छ ।

पक्की पर्खाल र नाली बनाएपछि पहिरो नियन्त्रणका साथै धुलो र हिलोमुक्त बनाउन सकिने बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले बताए । भकिम्लीलाई बेनी बजारसँग जोड्ने सडक ढलान, नाली र सोलिङ गर्न चालू आव २०७९/८० मा २ वटा प्याकेजमा १ करोड २५ लाख विनियोजन भएको छ ।

दुवै प्याकेजमार्फत ४५० मिटर ढलान, ३५० मिटर नाली, ३०० मिटर पर्खाल निर्माण र ३५० मिटर सोलिङ हुँदैछ । बेनी नगरपालिका–४ स्थित तातोपानी बजारमा ३२५ मिटर सडक कालोपत्र भइरहेको छ । ७० लाखमा ठेक्का सम्झौता भएको महारानीथान–छाप–ठूलोखोला सडक आयोजनामार्फत १७२ मिटर सडक ढलान हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्