
सरकारले संसदमा पेश गर्ने वार्षिक नीति तथा कार्यक्रमपछि हुने छलफल छोट्याउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख दलका नेतासँग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान प्रचण्डले सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका हुन् ।
तीन दलका प्रमुख सचेतकसहितको छलफल मुख्यतः सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल कसरी गर्ने भन्नेमा केन्द्रित रहेको स्रोतले बतायो ।
जेठ १५ मा नयाँ आर्थिक वर्षको बजेट आउनुअघि संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्नुपर्छ । सोही नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सरकारले संसदमा बजेट ल्याउँछ ।
सरकारको नीति तथा कार्यक्रम जेठ ३ मा ल्याउने प्रधानमन्त्री प्रचण्डको तयारी थियो ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँगको भेटमा प्रचण्डले जेठ ३ मा नीति तथा कार्यक्रम ल्याउने संकेत गरेका थिए । सोहीअनुसार जेठ ३ गते साँझ ४ बजेका लागि बैठक राख्ने तयारी सचिवालयको थियो ।
सरकारले आहिलेसम्म औपचारिक आग्रह नगरेका कारण सरकारको नीति तथा कार्यक्रमको मिति यकिन हुन सकेको छैन ।
संसद् सचिवालय स्रोतले जेठ ३ मा कार्यक्रम आउने सम्भावना कम रहेको बतायो ।
नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गर्नेछन् । जेठ ३ को सट्टा ५ गते नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी छ ।