१४ असार २०८३, आइतबार

उपनिवेशकालमा बेलायतले लुटेको सामान फिर्ता लिन भारतले थाल्यो पहल

बैशाख ३१, २०८०
उपनिवेशकालमा बेलायतले लुटेको सामान फिर्ता लिन भारतले थाल्यो पहल

भारतले उपनिवेशकालमा बेलायतीहरूद्वारा लुटिएका विभिन्न सामान फिर्ता लिनका लागि कूटनीतिक अभियान थालेको द टेलिग्राफ पत्रिकाले खबर दिएको छ । 

शीर्ष भारतीय अधिकारीहरूले यसका लागि चासो दिइरहेको पत्रिका लेख्छ । प्रधानमन्त्री नरेन्द्र मोदीको प्राथमिकता सूचीमा पनि यो अभियान रहेको बताइएको छ । 

उपनिवेशकालीन अधिकारीहरूले अनैतिक रूपमा जबर्जस्ती सामानहरू भारतबाट बेलायत पुर्‍याएको र यो वास्तवमा डकैती नै भएको निष्कर्ष भारतीय अधिकारीहरूले निकालेका छन् । त्यसैले तस् सामान फर्काउनका लागि भारतमा मन्त्रीस्तरीय तथा कूटनीतिक तहमा प्रयास गरिने बताइएको छ । 

लन्डनमा रहेको भारतीय कूटनीतिकर्मीहरूले ती सामान राखिरहेका व्यक्ति तथा संस्थामा औपचारिक निवेदन पेश गर्ने अपेक्षा छ । यस प्रक्रियाको थालनी सन् २०२३ मै गरिनेछ । 

यस अभियानअन्तर्गत १०५ क्यारेटको कोहिनूर हीरा फिर्ता ल्याउन जोड दिइएको छ । कुनै समयमा भारतीय शासकहरूसँग रहेको उक्त हीरा बेलायतले सन् १८४९ मा पञ्जाब प्रान्त लिएपछि हात पारेको थियो । अहिले त्यो हीरा बेलायतकी दिवंगत महारानी एलिजाबेथ द्वितीयाको मुकुटमा राखिएको छ ।

हालै राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा उक्त मुकुट र हीरा उपयोग गरिएको थिएन । उक्त हीरा उपयोग गरिएमा उपनिवेशी विगतको दुःखद स्मरण बल्झिने भनी भारतको सत्तारूढ दलले चेतावनी दिएपछि त्यसलाई उपयोग नगरिएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्