
सर्लाहीको मलंगवा नगरपालिका ८ स्थित भन्सार इलाकाबाट ८ लाख नेपाली रूपैयाँ र भारतीय मोटरसाइकल बरामद भएको छ ।
एक हजार रूपैयाँको ७०० थान र पाँच सय रूपैयाँको २०० थान नेपाली रूपैयाँ र बिआर ३० एन ३५९० नम्बरको भारतीय मोटरसाइकल सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा (विओपी मलंगवा) ले बरामद गरेको हो ।
बरामद भएको रकम र मोटरसाइकल थप अनुसन्धानका लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
यसैगरी, ब्रम्हपुरी गाउँपालिका ५ स्थित सखुअवाबाट २० केजी गाँजा र भारतीय मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३० डी ५८८५ नम्बरको भारतीय मोटरसाइकल र ४ पोका गाँजा विओपी सखुअवाले नियन्त्रणमा लिएको हो ।
मोटरसाइकल चालक भने प्रहरीलाई देखेपछि भागेका थिए ।
बरामद भएको सामग्री आवश्यक अनुसन्धान तथा कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाएको सह–प्रवक्ता थापाले जानकारी दिए ।