
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका कार्यक्रम तर्जुमा गरेर जेठ १० गतेभित्र पेस गरिसक्न विभागीय प्रमुखलाई निर्देशन दिएको छ । कामपाको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले विभागीय प्रमुखहरुको बैठकमा चालु आर्थिक वर्षको सिलिङ नबढ्ने गरी, कार्यान्वयन योग्य कार्यक्रम तर्जुमा गर्न विभिगीय प्रमुखहरुलाई निर्देशन दिएका हुन् ।
आर्थिक वर्ष २०८०/८१ अधुरा योजना पूरा गर्ने वर्ष हुने र त्यसपछि कुनै पनि अधुरा योजना बाँकी नरहने गरी कार्यक्रम तर्जुमा गर्न पनि बैठकमा उनले जोड दिए ।
त्यसैगरी, कामपाका विभागहरु काठमाडौँ प्लाजामा सार्ने विषयले बैठकमा लामो समय लिएको थियो । अहिलेसम्ममा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र सचिवालय, प्रशासन विभाग, सामाजिक विकास विभाग, स्वास्थ्य विभाग, कानुन तथा मानव अधिकार विभाग, विपद् व्यवस्थापन विभाग, वातावरण व्यवस्थापन विभाग, आन्तरिक लेखापरीक्षण एकाइ, खरिद एकाइ प्लाजामा सरिसकेका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय आगामी जेठ ३ गतेभित्र, सहकारी विभाग जेठ ६ गतेभित्र, सहरी व्यवस्थापन विभाग जेठ ८ गतेभित्र प्लाजामा सरिसक्ने योजना कामपाको छ ।
यही वैशाखदेखि नै कामपाको १४ वटै विभागले काठमाडौँ प्लाजाबाट सेवा दिने भने पनि यस अघि रहेका केही कार्यलयहरु अयन्त्र नसरेकाले समस्या भएको कामपाको भनाइ छ ।