फ्रान्सले युक्रेनलाई हलुका ट्यांक र सशस्त्र वाहनहरू उपलब्ध गराउने प्रतिज्ञा गरेको छ ।
युक्रेनी सैनिकहरूलाई ती हतियार चलाउनका लागि तालिम पनि फ्रान्सले दिने भएको छ ।
आइतवार युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्की फ्रान्स पुगेका थिए । पेरिसमा रहेको राष्ट्रपति भवन एलिसी प्यालेसमा उनले फ्रान्सेली समकक्षी इम्मानुएल म्याक्रोंसँग रात्रिभोज समेत गरेका थिए ।
जेलेन्स्की अहिले विभिन्न युरोपेली मुलुकहरूको भ्रमणमा छन् । युक्रेनले रुसविरुद्ध गर्ने भनिएको प्रत्याक्रमण कारवाही भन्दा अघि उनले यो भ्रमण गरेका हुन् ।
जर्मनीको राजधानी बर्लिनमा आइतवार जेलेन्स्कीले आफ्नो मुलुक तथा सहयोगी राष्ट्रहरू मिलेर रुसको पराजय गराउने बताएका थिए । जर्मनीबाट युक्रेनले ३ अर्ब डलर बराबरको सहयोग प्राप्त गरेपछि जेलेन्स्कीले यो बयान दिएका हुन् ।
फ्रान्समा म्याक्रोंले युक्रेनलाई राजनीतिक, मौद्रिक, मानवीय तथा सैन्य सहयोग जारी राख्ने दोहोर्याए ।
फ्रान्सले एएमएक्स–१०आरसी वाहनहरू युक्रेनलाई दिन लागेको हो । ती वाहनहरू युद्धभूमिमा द्रुत गतिमा गुड्छन् अनि तत्कालै पोजिसन बदल्न पनि सक्षम हुन्छन् ।