
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको सही सदुपयोग हुन नसकेको बताएका छन् । सोमवार विद्यार्थी दिवस र अबको बाटो विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन सफल भए पनि त्यसको खास सदुपयोग हुन नसकेको बताएका हुन् ।
देशको आर्थिक अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै राजनीतिक अस्थिरता, शिक्षा, स्वास्थ्य रोजगारीको कमी हुँदा युवाहरू विदेश पलायन भइरहेको उनले बताए । लोकतन्त्र, गणतन्त्र ल्याउनेहरूबाट नै लोकतन्त्र र गणतन्त्रमाथि खतरा रहेको उनको भनाइ छ । ‘हामीले लोकतन्त्र र गणतन्त्र त ल्यायौँ तर त्यसको खास सदुपयोग गर्न सकेनौँ,' उनले भने, 'यही अवस्था रहने हो भने मुलुकको अस्तित्वमाथि नै शंकट उत्पन्न हुने देखिएको छ । लोकतन्त्र, गणतन्त्र ल्याउनेबाट नै लोकतन्त्र र गणतन्त्रमाथि खतरा छ ।’