०८ साउन २०८३, शुक्रबार

सिटी तीन वर्षमा दोस्रोपटक च्याम्पियन्स लीगको फाइनलमा, उपाधिका लागि इन्टरसँग भिडन्त

सिटी तीन वर्षमा दोस्रोपटक च्याम्पियन्स लीगको फाइनलमा, उपाधिका लागि इन्टरसँग भिडन्त

१४ पटककाे विजेता स्पेनिस रियल म्याड्रिडलाई समग्रमा ५–१ गोल अन्तरले पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लीगको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको सेमिफाइनलको दोस्रो  लेगमा सिटी रियललाई ४–० गोल अन्तरले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको हो । सिटीकाे याे तीन वर्षमा दाेस्राे फाइनल हाे । 

पहिलो लेग १–१ गोल बराबरी भए पनि दोस्रो लेगमा आफ्नै इत्तेहाद स्टेडियममा सिटी शानदार लयमा देखियाे । यस अघि २०२०/२०२१ को सिजनमा फाइनलमा पुगे पनि सिटी चेल्सीसँग १–० गोलले पराजित हुँदै उपाधिविहीन बन्न पुगेको थियो । यसपटक च्याम्पियन्स लिगको राजा रियललाई सहजै पाखा लगाएकाे सिटीले उपाधिका लागि इटालीकाे इन्टर मिलानसँग खेल्नेछ ।  

फाइनल आगामी १० जुनमा टर्कीको इन्तानबुलमा हुनेछ । 

रियललाई सहज जित दिलाउने क्रममा सिटीले पहिलो हाफमा एकपक्षीय उच्च प्रदर्शन गर्दै २–० को अग्रता लियो । २३ र ३७ औं मिनेटमा पोर्चुगिज बर्नान्डो सिल्भाले दुवै गोल गरे । 

दोस्रो हाफमा सिटीमाथि दबाब बढाउन खोजे पनि रियल सफल भएन । सिटीको दबाब थेग्न नसक्दा ७६ औं मिनेटमा रियलका म्यानुअल अकान्जीले बल क्लियर नसक्दा आत्मघाती गोलको सामना गर्नुपर्यो । याे गाेलपछि रियलकाे खेलमा फर्कने बाटाे अन्त्य भयाे ।  

अर्लिङ हालान्डको सट्टामा ८९ औं मिनेटमा मैदान छिरेका जुलिएन अल्भारेजले ९१ औं मिनेटमा गोल गर्दा सिटीले सहजै ४–० को जित दर्ता गरेको हो ।

हालान्डका तीनवटा प्रहारलाई रियलका गोलकिपरले  कोर्टवाले उत्कृष्ट बचाउ गर्दा सिटी थप गोल बढाउनबाट चुकेको थियो । 

इन्टर मिलान एसी मिलानलाई समग्रमा ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । 

विश्वकप फुटबलका विजेता टोली अर्जेन्टिनाका लाउटारो मार्टिनेज र जुलिएन अल्भारेज मध्ये एकले च्याम्पियन्स लिग पनि जित्ने पक्का गरेका छन् । 

इन्टर मिलानले अहिलेसम्म तीनपटक च्याम्पियन्स लीगको उपाधि जितेको छ । अन्तिमपटक २०१० मा इन्टरले यो उपाधि जितेको थियो । त्यसअघि १९६४ र १९६५ मा इन्टरले उपाधि जितेको थियो ।  

फाइनल खेल्दै गरेका सिटी र इन्टरले अहिलेसम्म ३ खेल एक आपसमा खेल्दा एकएक जीत र एउटामा बराबरी खेलेका छन् । 

इन्टर मिलानको यसपटक इटालीको लीग जित्ने सम्भावना सकिइसकेको छ । तीन खेल बाँकी हुँदा नेपोलीले लीग जितिसकेको छ । तीन खेल खेल्दा इन्टर युभेन्टसलाई जित्दै दोस्रो स्थानमा भने पुग्न सक्नेछ । तर युभेन्टसले तीनवटै खेल जिते इन्टरले तीन खेलजित्नुले अर्थ राख्दैन । इन्टर युभेन्टसभन्दा तीन अंकले पछाडि छ ।  

यता सिटी फेरि पनि इंंग्लिस लीग जित्न तीन खेलमा मात्रै एक जीतबाट टाढा छ । यस सिजन लयमा नरहेको चेल्सीलाई अबको खेलमा पराजित गर्न सके सिटी आर्सनललाई स्तब्ध पार्दै फेरि लीग च्याम्पियन बन्नेछ । 

घरेलु लीगको लय र स्टार खेलाडीले भरिएको टिम भएकोले पनि यसपटक सिटीले उपाधि उचाल्ने अनुमान धेरैको छ । 

तर लीगभन्दा पनि ठूलो च्याम्पियन्स लीग पहिलोपटक जितेर सिटी आफूलाई अब्बल सावित गर्ने धुनमा हुनेछ । 


 

salt training

कमेन्ट गर्नुहोस्