०२ असार २०८३, मंगलबार

आमा समूहलाई कपास प्रशोधन गर्ने उपकरण

आमा समूहलाई कपास प्रशोधन गर्ने उपकरण
प्रतिकात्मक तस्वीर

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आमा समूहलाई कपास प्रशोधन गर्ने उपकरण प्रदान गरेको छ ।

व्यावसायिकरुपमा कपास खेती गर्दै आएका वडा नम्बर ७ महादेवस्थानस्थित कात्तिकेका जुनतारा आमा समूह र गोदावरी आमा समूहलाई नगरपालिकाले १४ लाख रुपैयाँ मूल्य पर्ने मशिन प्रदान गरेको हो ।

कपासको रुवा र दाना छुट्याउन अत्यन्तै झन्झटिलो, ढिलो र समय लाग्ने भएकाले बोलपत्र आह्वान गरेर कपासको रुवा र दाना छुट्याउने मेसिन खरिद गरेर आमा समूहलाई प्रदान गरिएको नगर प्रमुख विमला राईले बताइन् ।

‘कपास र त्यसको दानालाई चाँडोभन्दा चाँडो छुट्याउने व्यवस्था मिलाएर महिलाको श्रम र समयको बचत गर्दै कपासको औद्योगीकरणको लक्ष्यका साथ नगरपालिकाले कपास प्रशोधन मशिन उपलव्ध गराएको जनाएको छ,’ उनले भनिन्, ‘१ दिनमा सरदर १ किलोग्राम कपासबाट त्यसको दाना अलग गर्ने गरिएकामा प्रशोधन मशिनको सहायतामा घण्टामै सयौं किलोग्राम कपास र त्यसको दाना छुट्याउने वातावरण बनेको छ ।’

किराती सभ्यतासँग सम्बन्धित कपास र त्यसको सिड छुट्याउन एकदमै समय लाग्ने गरेको छ । दिनमा १ जनाले १ किलोग्राम मात्रै छुट्याउन सकिने भएकाले कपासबाट निर्मित कपडा र अन्य चिज महंगो हुन जाने गरेको थियो । जसका कारण श्रम र संस्कृतिबाट मान्छे टाढिने भएकाले मशिनको व्यवस्था गरिदिएका नगर प्रमुख राईले बताइन् ।

कपासको रुवा र दाना छुट्याउन सरल, सहज र छिटो हुने तथा कपासबाट विभिन्न आइटम (प्रकार) उत्पादन गर्दै उद्योगको रूपमा स्थापित गर्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले कपास खेतीका लागि अनुदान उपलब्ध गराउन थालेपछि कात्तिकेमा लोप भइसकेको कपास खेतीलाई आर्थिक वर्ष २०७६/०७७ देखि पुनः जागृत गराइएको हो । नगर प्रवक्ता एवं वडा नम्बर ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्