
इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनबाट पन्जाब किंग्स बाहिरिएको छ । शुक्रवार राति राजस्थान रोयल्सँग पराजित भएसँगै पन्जाब बाहिरिएको हो ।
पन्जाब जारी आईपीएमा क्वालिफाई रेसबाट बाहिरिने तेस्रो टिम हो । दिल्ली र सनराइजर्स हैदराबाद यसअघि नै बाहिरी सकेका छन् ।
आज (शनिवार) दुई खेल हुँदैछन् । आजको खेलमा चेन्नई सुपरकिंग्स र दिल्ली क्यापिटल तथा लखनउ सुपरजायन्ट्स् र कोलकत्ता नाइट राइडर्स भिड्दै छन् ।
लखनउ र चेन्नईमध्ये जित्नेले प्लेअफमा स्थान बनाउन सक्नेछ । हार्दा चाहिँ मुम्बई वा बैंग्लोरको हारको प्रतिक्षा गर्नुपर्ने छ ।
गुजरात टाइटन्स १८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । गुजरातलाई क्वालिफाईअघि कसैले उछिन्न सक्ने अवस्था छैन ।
गुजरातपछि चेन्नई १५ अंकका साथ दोस्रोमा छ । चेन्नई रनरेटका आधारमा दोस्रोमा आएको हो । जबकि लखनउको पनि १५ अंक नै छ ।
चौथो नम्बरमा छ बैंग्लोर । उसको १४ अंक छ । यस्तै यति नै अंक भएका राजस्थान र मुम्बई क्रमश: पाचौँ र छैठौँ नम्बरमा छन् । कोलकत्ता १२ अंकका साथ सातौँमा छ ।
राजस्थानको क्वालिफाई गर्ने झिनो आशा बाँकी छ । त्यसका लागि बैंग्लोर र मुम्बईले अन्तिम खेल हार्नुपर्छ र बैंग्लोरको रनरेट कम हुनुपर्छ ।
चेन्नई आज दिल्लीलाई हराउँदा प्लेअफमा प्रवेश गर्नेछ । तर, उसलाई दोस्रोमा रहन भने लखनउको भन्दा रनरेट राम्रो बनाउनु पर्नेछ ।
हारेको खण्डमा चेन्नईलाई क्वालिफाई हुन मुम्बई, बैंग्लोर वा लखनउमध्ये कसैले हार्नुपर्छ ।
दिल्लीलाई यो खेलले कुनै फरक पार्ने छैन ।
आजको अन्तिम खेल लखनउ र कोलकत्ता नाइट राइडर्सबीच हुँदैछ । लखनउले जित्दा सिधै क्वालिफाई प्रवेश गर्नेछ ।
हारेको अवस्थामा भने लखनउलाई क्वालिफाई गर्न मुम्बई, बेंग्लोर या चेन्नईको हार प्रतिक्षा गर्नुपर्नेछ ।
हेर्नुहोस् अंक तालिका