०२ असार २०८३, मंगलबार

पर्यटन प्रवर्द्धनका लागि पोखरी संरक्षण र पर्यटन पार्क निर्माण

जेठ ६, २०८०
पर्यटन प्रवर्द्धनका लागि पोखरी संरक्षण र पर्यटन पार्क निर्माण

पछिल्लो समय गाउँ–गाउँमा मोटरबाटो पुग्न थाले । विनाइन्जिनियरिङ निर्माण भएका सडकले एकातर्फ पर्यावणमा असर पुर्‍याउनका साथै बाढी र पहिरोको जोखिम पनि उत्तिकै बढाएको छ भने अर्कातर्फ पानीका मुहान सुक्दै गएका छन् । 

पानीका मुहान सुक्न थालेपछि जिल्लाका धेरै बस्तीमा खानेपानी आपूर्तिमा समस्या देखिन थालेको छ । एक दशक अगाडिसम्म पानीले भरिभराउ हुने पोखरी अहिले सुक्खा भएका छन् । घर–घरमा धारा नहुँदा स्थानीयवासीले पोखरीमै पशुचौपायालाई पानी खुवाउने र सिँचाइका लागि पोखरीकै पानी प्रयोग गर्ने गर्थे । अहिले ती पोखरी सुक्खा हुन थालेका छन् । 

मौलिक परम्परासँग जोडिएका यस्ता सम्पदा संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन । बागलुङको जैमिनी नगरपालिकाले भने यसको संरक्षणमा चासो देखाएको छ । 

नगरपालिकाले चालू आर्थिक वर्षमा ठूला पोखरीको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्न थालेको छ । नगरपालिका–३ दमेकस्थित खालपोखरीको संरक्षण गर्नाका साथै त्यस वरपरको क्षेत्रमा पर्यटन पार्क निर्माण गर्न थालेको छ । नगरपालिकाले मौलिक सम्पदासँगै जोडेर पर्यटन प्रवर्द्धन गर्ने गरी काम शुरु गरेको हो ।

आव २०७९/८० मा गण्डकी प्रदेशले विनियोजन गरेको रु १० लाखले खालपोखरीलाई थप व्यवस्थित गर्ने र यस वरपर पर्यटन पार्क, वनभोजस्थल लगायतका संरचना निर्माण गर्ने नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।

शर्माले यो क्षेत्र पर्यटकीय हिसाबले अत्यन्तै सम्भावना बोकेको हुँदा यसको प्रवर्द्धनमा प्रदेश सरकार र नगरपालिका जुटेको बताए । सडकको सहज पहुँच र चर्चित पर्यटकीय स्थल गाजाको दह नजिक पर्ने हुँदा खालपोखरी क्षेत्रको विकास गर्न थालेको उपप्रमुख शर्माको भनाइ छ ।

“जैमिनीभित्र थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्र छन्, धेरै जसो गन्तव्य स्थलमा नगरपालिकाको लगानीमा पूर्वाधार निर्माण भइसकेका छन्, अहिले नयाँ गन्तव्य निर्माण गर्दैछौँ, पहिले यो पाखरीबाट पानी सङ्कलन गरेर सिँचाइ गर्ने गरिन्थ्यो, वस्तुभाउलाई पानी खुवाइन्थ्यो, अहिले सुक्दै गएको छ”, उपप्रमुख शर्माले भने, “अब योसँगै अन्य पोखरीको पनि संरक्षण गर्छौं, अहिले यहाँ पर्यटन पूर्वाधार निर्माण शुरु गरेका छौँ, यसको प्रचारप्रसारलाई पनि तीव्र बनाउने र पर्यटक भित्र्याउने वातावरण तयार गर्छौं, यो पनि एउटा महत्वपूर्ण गन्तव्य बन्ने आशा छ ।”

salt training

कमेन्ट गर्नुहोस्