
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थ राजनीतिज्ञ र कर्मचारीसहित १६ जना प्रहरीको हिरासतमा छन् । सरकारका पूर्वउपप्रधान र पूर्वगृहमन्त्रीसहित, सरकारका सचिव, पार्टीका प्रभावशाली भनिएका नेता र तिनका आफन्तलगायत गिरोह गम्भीर ठगी प्रकरणमा समातिएका हुन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै अर्बौं ठगी गरेको गम्भीर आरोपमा उच्च पदस्थ राजनीतिज्ञ र कर्मचारीसमेत पक्राउ परेको प्रकरणले देश-विदेशसम्म तरंगित छ ।
प्रहरीले सरकारी वकिलको कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाउन बाँकी छ । सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएसँगै कार्यालयले अध्ययनगरी अभियोगपत्र तयार गर्नेछ ।
अहिलेसम्म समातिने सबैभन्दा उच्च राजनीतिज्ञमा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी हुन् । पक्राउ पुर्जी जारी भएको ११ दिनसम्म फरार भएका उनलाई प्रहरीले बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।
उनी पूर्वउपप्रधानमन्त्री र पटकपटक मन्त्री भएका व्यक्ति हुन् । ठगी गर्ने क्रममा उनी र उनका छोरा सन्दीपसमेत पक्राउ परेका छन् ।
ललितपुरका सानु भण्डारीसँग मिलेर रायमाझीले ठगीको काम अगाडि बढाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई १९ वैशाखमा समातिएका थिए। ठगी गिरोहसँग मिलेर राई पनि पैसा उठाउने धन्दामा जोडिएको दाबी प्रहरीको छ ।
त्यस्तै अर्का प्रभावशाली नेतामा पूर्वगृहमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण हुन् । गृहमन्त्री हुँदा नै नीतिगत निर्णय मात्रै होइन पैसा लेनदेनमा सक्रिय रहेको प्रमाण भेटिएपछि खाँण २७ वैशाखमा पक्राउ परेका हुन् ।
उनीसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका थिए । शिक्षक हुँदै केसी खाँणको स्वकीय सचिवका रूपमा आएका थिए । ठगी प्रकरणमा खाँणले नरेन्द्रको नामै लिएर ५ लाख दिन विचौलियालाई आग्रह गरेको विषय बाहिरिएको छ ।
त्यस्तै कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्र मन्त्री हुँदा उनका पीए रहेका केशव दुलाल पनि गिरोहसँग मिसिएका अर्का ठूला विचौलिया हुन् । कोइराला २०६६ जेठदेखि २०६७ माघसम्म परराष्ट्र मन्त्री बन्दा दुलाल पीए भएका थिए । परराष्ट्र मन्त्रीको पीएको अनुभवलाई दुलालले ठगीमा प्रयोग गरेका हुन् ।
प्रहरीले गत चैत १२ गते केशव दुलाल, सानु भण्डारी र टंक गुरुङलाई पक्राउ गरेको थियो । दुलाल मोरङका, भण्डारी ललितपुर २३ र गुरुङ पाँचथर फिदिमका हुन् ।
भण्डारी र दुलाल विचौलियामध्ये मुख्य हुन् । ललितपुरमा बस्ने यी दुवैको टोपबहादुर रायमाझीसँग नजिकको चिनजान भएको बताइन्छ ।
अर्का प्रभावशाली प्रशासक हुन टेकबहादुर पाण्डे । पाण्डेलाई पनि खाँणले नै गृह सचिवमा ल्याएका थिए । गृहमन्त्री भएको एक महिनामा नै खाँणले पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट २०७८ साउन २७ गते गृह सचिवमा ल्याएका थिए ।
यी सचिव हुँदा ठगीमा मन्त्रालयदेखि नै सेटिङ गरिएको आरोप छ । प्रहरीले समात्दा भने पाण्डे उपराष्ट्रपति कार्यालयको सचिव थिए । उनी २० वैशाखमा समातिएका हुन् ।
खाँणसँग नजिक भएर ठगीमा जोडिएका कांग्रेस नेता आङटावा शेर्पाले भने आफैं प्रहरीसँग आत्मसमर्पण गरेका थिए । शेर्पा २०७० सालको संविधानसभा निर्वाचनमा रामेछाप १ बाट निर्वाचित भएका थिए ।
ठगीमा खाँण र शेर्पाले रकम दानप्रदानको काम गरेको प्रहरी स्रोतको दाबी छ । ठगीको पोल खुल्दै जान थालेपछि पैसा फिर्ता गराउने काम खाँणले शेर्पामार्फत् नै गरेको प्रहरी स्रोत बताउँछ ।
त्यस्तै, सागर राई शनिश्चरे नगरपालिका १० पूर्व वडाध्यक्ष हुन् । गिरोहसँग मिलेर अमेरिका जान खोज्ने व्यक्तिको खोजीमा राईले सहयोग गरेका थिए । उनी १५ चैतमा पक्राउ परेका हुन् ।
अर्का सन्देश शर्मा भने पश्चिम नेपालका विभिन्न जिल्लाबाट अमेरिका लैजाने भन्दै व्यक्ति खोज्दै विचौलियासम्म पुर्याउने व्यक्ति हुन् । दाङका शर्मा २९ चैतमा समातिएका हुन् ।
त्यस्तै, काठमाडौं टोखाका रामशरण केसी र मोरङ बेलबारीका गोविन्द चौधरी वैशाख २६ गते शंखमुलबाट पक्राउ परेका हुन् । यी पनि ठगी प्रकरणका विचौलिया हुन् ।
पैसा उठाउने, विचौलियादेखि नेतासम्म लानेसहितका काममा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पनि मुछिएका छन् । उनी गत बिहीवार सिंहदरबारबाटै समातिएका थिए ।
त्यस्तै भुटानी शरणार्थी नेताको परिचय बनाएका टेकनाथ रिजालसमेत प्रकरणमा मुछिएका छन् । उनी पनि गत बिहीवार नै पक्राउ परेका हुन् ।
प्रकरणमा जोडिएका पूर्वगर्हमन्त्री रामबहादुर बबादलका छोरा प्रतीक र सल्लाहाकार इन्द्र राईका छोरा निरज भने फरार सूची छन् ।
२०७६ सालमा भुटानी शरणार्थी प्रमाणिकरण र तेस्रो देश लैजाने क्रममा छुटेकाको विषयमा अध्ययन गर्न सरकारले कार्यदल बनाएको थियो । यो कार्यदलको नेतृत्व सहसचिव बालकृष्ण पन्थीले गरेका थिए । प्रतिवेदनले ४२९ जना छुटेको प्रतिवेदन दिएको थियो । तर, पछिसम्म छुटेको भन्दै केहीको निवेदन आइनै रह्यो ।
त्यसपछि सरकारले थप अनुसन्धान गर्दै नामावली संकलन गरेको थियो । छुटेकालाई अमेरिका लाने भन्दै गिरोहले नक्कली भुटानी शरणार्थी बनाउन १० देखि ५० लाख प्रतिव्यक्ति उठाएको प्रहरी स्रोत बताउँछ ।
यसै क्रममा गृहमन्त्री, गृहसचिव, मन्त्रीका सविचालय र अन्य गिरोह मिलेर गृह मन्त्रालयको प्रतिवेदन नै फेरेर नक्कली शरणार्थी खडा गर्दै ठगी गर्नेसम्मको काम भएको प्रहरीको दाबी छ ।