२७ असार २०८३, शनिबार

दशैंमा घर फर्कन्छु भन्थे, मृत्युको डेढ महिनासम्म शव पनि आएन

कात्तिक २०, २०७४
 दशैंमा घर फर्कन्छु भन्थे, मृत्युको डेढ महिनासम्म शव पनि आएन

काठमाडौं, २१ भदौ– कपिलवस्तु वाणगंगा नगरपालिका –९ भर्तापुरका ३० वर्षीय भीमबहादुर पछाईंले दशैंमा नेपाल फर्कने योजना बनाएका थिए । झण्डै तीनवर्ष साउदी अरबमा काम गरेपछि उनले परिवारलाई दशैंमा घर आउने वचन दिए ।

बुवा–आमा, श्रीमती र बच्चाबच्चीले उनलाई नेपालमा पर्खिरहेका थिए, अहिले पनि पर्खिरहेकै छन् । सात वर्षअघि भीमबहादुरसँग प्रेमविवाह गरेकी विनाले परेदेशिएका पति यसैपालि घर फर्कने भएपछि मन चंगा बनाएकी थिइन् ।

विदेश गएका पति घर फर्कंदा कुन चाहिँ पत्नीको मन चंगा नहुँदो हो ! तर दुर्भाग्य, दशैंमा आउँछु भनेका भीमबहादुरले डेढ महिना अघि साउदीमै ज्यान गुमाएपछि पछाईं परिवार अहिले गहिरो शोकमा डुबेको छ ।

भीमबहादुरलाई कुरिरहेको पछाईं परिवारको पर्खाइ अझै सकिएको छैन । डेढ महिनाअघिसम्म भीमबहादुरलाई कुरिरहेको परिवारले अहिले उनको शवलाई कुरिरहेको छ ।

भीमबहादुरले साउन ५ गते दुर्घटनामा परेर साउदीमा ज्यान गुमाए । डेढ महिना बितिसक्यो तर शव अझै आएको छैन । साउदीमै भएका भीमबहादुरका आफन्तहरूले उनको शवलाई नेपाल पठाउन खोजिरहेका छन् । तर आज भन्यो, भोलि भन्यो कम्पनीले उनको शवलाई नेपाल पठाएको छैन ।

साउदीस्थित नेपाली दूतावासले पनि यसमा कुनै पहलकदमी लिएको छैन ।

‘डेढ महिना बितिसक्यो, अहिलेसम्म पनि शव आएको छैन,’ भीमबहादुरकी पत्नीतर्फकी काकी मनकलाले गिरीले भनिन्, ‘इद र सार्वजनिक बिदाको कारणले शव पठाउन नसकेको खबर उताबाट आएको छ,’ उनले बताइन् ।

गिरीले शव पठाउने कुरा चल्दै गर्दा इद सुरु भएको र इद सकिएपछि सार्वजनिक बिदा परेको खबर कतारमा रहेका नेपालीहरूले पठाएको बताइन् ।

मनकलाका अनुसार भीमबहादुरले साउदीमा रहेको एक सप्लायर कम्पनीमा काम गर्थे । साउन ५ गते कम्पनी जाने बेलामा भएको गाडी दुर्घटनामा परेर उनले ज्यान गुमाएका हुन् ।

‘दशैंमा आउँछु भन्नुभएको थियो, तर मृत्यु भएको डेढ महिनासम्म शव पनि आएन,’ उनले लोकान्तरसँग भनिन्, ‘सिंगो परिवार शोकमा डुबेको छ, सरकारी निकायबाट कुनै सहयोग पाएको छैन ।’

घरमा भीमबहादुरका बुवा र आमासहित तीन वर्षकी छोरी, दुई वर्षका छोरा र श्रीमती छन् । श्रीमानको मृत्यु भएपछि श्रीमती विना बेहोसजस्तै बनेकी छन् । बूढा बुवा–आमा छोरो गुमाउनुपर्दा उस्तै शोकमा छन् ।

‘शव सद्गत गर्न नपाउँदा परिवार तथा आफन्तहरूले नून बार्न पाएका छैनौं,’ मनकलाले भनिन्, ‘हामीलाई म्यानपावर कम्पनी तथा सरकारी निकायले पनि खासै सहयोग गरेनन् ।’

वाणगंगा–९ का वडाअध्यक्ष धु्रव बेल्वासेले परिवारसँग शव ल्याउने क्षमता नभएको र सरकारी निकाय तथा म्यानपावर कम्पनीले सहयोग नगर्दा डेढ महिनासम्म पनि भीमबहादुरको शव नेपाल नआएको बताए । नेपाल र विदेशमै रहेका प्रवासीहरूले पहल गर्दा समेत शव आउन नसकेको बेल्वासेले बताए ।

यस विषयमा जानकारी लिन खोज्दा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका प्रवक्ता ताराबहादुर कुँवरले शव ल्याउनका लागि कार्यालयको तर्फबाट पहल गरिएको बताए ।

‘दुर्घटनामा परेर मृत्यु भएको कारणले प्रहरी अनुसन्धान गर्नुपर्ने थियो, त्यसपछि साउदीमा चाडपर्वहरू परेको दूतावासबाट खबर आएको थियो,’ उनले लोकान्तरसँग भने, ‘हामीले यहाँबाट दूतावासलाई लेखेर पठाएका हौं । के भइरहेको छ भनेर पनि बुझ्छौं ।’

उनले बोर्डमा निवेदन परेको तर त्यसपछि ‘फलोअप’ नभएको बताए । दूतावासले आफन्तहरूको सहकार्यमा शव पठाउने भएकाले त्यसपछि शव आयो कि आएन भनेर बोर्डलाई जानकारी नहुने उनले बताए ।

आफन्तहरूले बोर्डमा तोकता गरेमा बोर्डबाट दूतावासमा फेरि खबर हुने उनी बताउँछन् ।

प्रवक्ता कुँवरले बोर्डका तर्फबाट भीमबहादुरको शव नेपाल ल्याउनका लागि फेरि पहल गरिने समेत जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्