२२ जेठ २०८३, शुक्रबार

वित्तीय सुशासन जोखिम मूल्यांकनमा मेलम्ची नगरपालिका प्रथम

वित्तीय सुशासन जोखिम मूल्यांकनमा मेलम्ची नगरपालिका प्रथम

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका प्रथम भएको छ ।

मेलम्चीले आर्थिक वर्ष २०७८/७९ को प्रारम्भिक नतिजामा ८९ दशमलव ५ प्रतिशत अंक प्राप्त गर्दै जिल्ला प्रथम भएको हो । 

मेलम्चीले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा ९२ दशमलव ८६, कार्यान्वयन क्षमता तथा व्यवस्थापन ९७ दशमलव ९३, लेखांकन तथा प्रतिवेदनमा शत्प्रतिशत, अनुगमन मूल्यांकन तथा लेखा परीक्षणमा ८१ दशमलव २५ र राजस्व व्यवस्थापनमा ८५ दशमलव २९ प्राप्त गरेको जनाइएको छ ।

जिल्ला समन्वय समितिले मूल्यांकन गरी अन्तिम नतिजा प्रकाशन गरेको थियो ।  

मूल्यांकनअनुसार जिल्लाको भोटेकोसी गाउँपालिकाले ६५ अंक, जुगल गाउँपालिकाले ५० अंक, पाँचपाखरी थाङ्पाल गाउँपालिकाले ५४ अंक, हेलम्बु गाउँपालिकाले ४१ दशमलव ५ अंक, चौतारा साँगाचोकगढी नगरपालिकाले ६६ अंक, बलेफी गाउँपालिकाले ६० दशमलव ५ अंक, बाह्रबिसे नगरपालिकाले ६४ अंक, त्रिपुरासुन्दरी गाउँपालिकाले ६१ दशमलव ५ अंक, लिसंखुपाखर गाउँपालिका ५४ दशमलव ५ अंक र सुनकोशी गाउँपालिकाले ४२ दशमलव ५ अंक प्राप्त गरेका छन् ।

मेलम्ची आर्थिक वर्ष २०७७/७८ मा पनि ७१.५ अंक प्राप्त गर्दै पहिलो भएको थियो ।

मेलम्चीले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ८६ प्रतिशत अंक दाबी गरेको छ । स्वमूल्यांकनको विषय क्षेत्रहरूको समग्र स्थितिमा ९२ दशमलव ८६ प्रतिशत प्रक्रियागत स्थितिमा ८३ दशमलव ८२ परिणात्मक स्थितिमा ८४ दशमलव ४४ प्रतिशत अंक दाबी गरेको छ ।

अब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसको गुणस्तर परीक्षण गरी नगरपालिकाको अन्तिम नतिजा प्राप्त हुने मेलम्चीको सूचना प्रविधि शाखा प्रमुख अर्पना श्रेष्ठले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले आगामी आवमा २ वटै मूल्यांकनमा ९० प्रतिशतभन्दा माथि अंक आउने गरी काम गर्ने लक्ष्य लिइएको जानकारी दिए । नगरपालिकाको मूल्यांकनपछि नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधानले आगामी वर्षहरूमा पनि स्थानीय तहमा प्रथम हुने गरी काम गर्ने बताए ।

सो नगरपालिका लगातार दोस्रोपटक जिल्लामै प्रथम भएको हो । आव २०७८/७९ मा पनि मेलम्ची स्थानीय तह संस्थागत स्वमूल्यांकनमा प्रथम भएको नगरपालिकाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्