म्याग्दीमा मदिराका सिसाजन्य बोत्तल व्यवस्थापन हुन नसक्दा समस्या भएको छ ।
गाउँ–गाउँ पुर्याइएका सिसाका बोत्तल यत्रतत्र फालिएको अवस्थामा भेटिन्छन् । यसरी फालिएका सिसाका बोत्तल फुटेर दुर्घटना निम्त्याउनुका साथै बस्तीलाई प्रदूषित र कुरूप बनाएको छ ।
बारीमा सिसाका बोत्तल यत्रतत्र थुप्रिँदा किसानलाई समस्या भइरहेको छ ।
धवलागिरि गाउँपालिका–७ ताकमका दिवाकर सुवेदीले बाढीले बगाएर ल्याएको सिसाका बोत्तल खेतमा थुप्रिएपछि ३ वर्षदेखि खनजोत गर्न नसक्दा खेतीबाली लगाउन नपाएको गुनासो गरे । ‘खोल्सामा थुपारेको बोत्तल बाढीले बगाएर खेतमा ल्याएर थुपार्यो,’ उनले भने, ‘खेतभरि सिसाको टुक्रा भएपछि बाली लगाउनै पाएको छैन, बाँझै राखिएको छ ।’
नसड्ने र जोखिमयुक्त यस्ता सिसाजन्य फोहर व्यवस्थापनको उपाय अपनाइएको छैन । मदिरा उत्पादक कम्पनीले नै यस्ता खाली सिसा फिर्ता लैजानुपर्ने हो तर वास्ता नगरेकाले समस्या भएको धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले बताए । अध्यक्ष खत्रीले चुनौतीका रूपमा देखिएको सिसाजन्य फोहोर व्यवस्थापनका लागि नीतिगत पहल गर्नुपर्ने बताए ।
सडक सञ्जाल जोडिएसँगै दुर्गम भेगका बस्तीमा अझ बढी मदिराजन्य, चिसो पेयपदार्थजन्य सिसाका खाली बोत्तलको थुप्रो लागेको छ । अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय बस्ती घोडेपानीका व्यवसायीले भने सिसाका खाली बोत्तल खाल्डोमा पुर्दै आएका छन् ।