
काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगर क्षेत्रभित्रका अस्पतालहरूलाई लक्षित वर्गका बिरामीका लागि कूल शय्याको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्न निर्देशन दिएका छन् ।
उनले आइतवार स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) को व्यवस्था बमोजिम महानगर क्षेत्रभित्रका अस्पतालहरूलाई विपन्न, असहाय र बेवारिसे बिरामीका लागि १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार गर्न निर्देशन दिएका हुन् ।
यस्तै लक्षित वर्गले निःशुल्क सेवा लिएका व्यक्तिहरूको विवरण टाँस गर्न तथा महानगरपालिका कार्यालयमा प्रत्येक महिनाको १० गतेसम्म विवरण बुझाउन उनले भनेका छन् । अन्यथा काठमाडौँ महानगरबाट नियमानुसार कारबाही हुने चेतावनी पनि उनले दिएका छन् ।
उनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ११ (४) ख २ मा स्वास्थ्य संस्थाको नियमन गर्ने कानुनी अधिकारसमेत स्थानीय तहलाई रहेको स्मरण गरेका छन् ।
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैयाको दश (१० ) प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था छ ।
त्यस्तै स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ११ (४) ख २ मा स्वास्थ्य संस्थाको नियमन गर्ने कानुनी अधिकार समेत स्थानीय तहलाई रहेको छ ।