काठमाडौं २१ भदौ– असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुने प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ वटै स्थानीय तहका विभिन्न पदमा उम्मेद्वारी मनोनयन दर्ता गर्ने कार्य उत्साहपूर्णरुपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
बिहान १० बजेदेखि आठ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरुमा उम्मेद्वारी मनोनयन दर्ता गराउन फाराम लिने तथा दर्ता गर्नेहरुको भीड लागेको छ । उम्मेदवारी मनोनयन दर्ता कार्य शान्तिपूर्णरुपमा जारी रहेको आयोगका प्रवक्ता नबराज ढकालले जानकारी दिए ।
निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारीअनुसार, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयहरुमा विभिन्न राजनीतिक दलका उम्मेद्वार तथा स्वतन्त्र उम्मेद्वारहरूले उम्मेद्वारी दर्ताका लागि फाराम लैजाने र मनोनयन दर्ता गराउने कार्य भइरहेको छ ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर दुईका ८ जिल्लाका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयनको समय तोकिएको हो । आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ । यस निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुने छन् ।