
बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियुका विजय कार्की निर्विरोध निर्वाचित भएका छन् ।
लामो रस्साकस्सीबीच विद्यार्थी संगठनहरूले नेकपा एमालेनिकट अनेरास्ववियुको नेतृत्वमा स्ववियु चयन गरेका हुन् ।
जसअनुसार सचिवमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का निराजन खरेल, कोषाध्यक्षमा अनेरास्ववियुका योगेन्द्र रायमाझी र खुला सदस्यमा अनेरास्ववियुका सिर्जन नेपाल, प्रकृति गौतम, प्रकाश पौडेल, नेविसंघका भुवनेश्वर अधिकारी, पुनम कुँवर र अनेरास्ववियु क्रान्तिकारीका निशा बन्जाडे र प्रसुन ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् ।
चैत ५ गते निर्वाचनका लागि नामावली प्रकाशन भएको अवस्थामा अनेरास्ववियु बाहेकका विद्यार्थी संगठनले निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि रोकिएको थियो । उच्च अदालत तुलसीपुर बुटवल इजलासले वैशाख १० गते ३० दिनभित्र निर्वाचन प्रक्रियामा लैजान दिएको अन्तरिम आदेशपछि पुनः प्रक्रियामा गएको थियो ।
जेठ १४ गते निर्वाचनको कार्यतालिका थियो । निर्वाचन अधिकृत तथा सहप्राध्यापक गोपालप्रसाद पाण्डेले सभापतिसहित पदाधिकारीमा एकल उम्मेदवारी परेपछि निर्विरोध भएको बताए । क्याम्पसमा ४ हजार विद्यार्थी अध्ययनरत छन् । क्याम्पसमा व्यवस्थापन विषयहरूको पढाइ हुन्छ ।