
दलहरुबीच सहमति जुट्न नसकेपछि प्रतिनिधिसभाको बैठक शनिवार अपरान्ह ४ बजेसम्मका लागि स्थगित भएको छ ।
संघीय संसद् सचिवालयका महासचिव मनोहर भट्टाईले शुक्रवार साँझ एक सूचना प्रकाशित गरी शनिवार ४ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् ।
पशुपतिनाथको जलहरी राख्दा सुनको सट्टा पित्तलको राखिएको भन्दै नेकपा माओवादीका एक सांसदले लगाएको आरोप सम्बन्धमा सरकारको जवाफ मागगर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शुक्रवारको प्रतिनिधि सभा अबरुद्ध गरेको थियो ।
एमालेको विरोधपछि २० मिनेटका लागि भन्दै पौने १ बजे बैठक स्थगित गरिएको थियो ।
संसद् सचिवालयले सूचना प्रकाशित गरी २० मिनेटका लागि स्थगित बैठक अपरान्ह ३ बजे बस्ने जनाएको थियो ।
केहीबेरमा अर्को सूचना प्रकाशित गरी बैठक साँझ ६ बजेका लागि सारिएको थियो ।
संसद्भवनस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा शुक्रवार भएको छलफल निश्कर्षमा पुग्न नसकेपछि तेस्रो सूचनामार्फत भोलिसम्मका लागि बैठक स्थगित गरिएको हो ।