२२ असार २०८३, सोमबार
नीति तथा कार्यक्रम पारित गर्ने दबाब

संसदको गतिरोध खोल्न प्रधानमन्त्रीले शनिबार एमालेसँग वार्ता गर्ने

एमाले सहमतिमा नआए विरोधकाबीच पारित गर्ने तयारी
संसदको गतिरोध खोल्न प्रधानमन्त्रीले शनिबार एमालेसँग वार्ता गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा गरेको अवरोधले सरकारका नीति तथा कार्यक्रम पारित गर्ने कार्यक्रम प्रभावित हुने भएसँगै प्रधानमन्त्री प्रचण्डले एमालेसँग वार्ता गर्ने भएका छन् । शनिबार बिहान साढे ८ बजे सिंहदरबारमा छलफलका लागि प्रधानमन्त्री प्रचण्डले एमाले नेताहरूलाई बोलाएका हुन् । 

संसदको अवरोध खुलाउन प्रमुख सचेतकको तहमा शुक्रवार दिनभर भएको प्रयास विफल भएपछि प्रधानमन्त्री स्वयंले अग्रसरता लिएका हुन् । प्रधानमन्त्रीले वार्ताका लागि बोलाएको नेकपा एमालेका एक प्रभावशाली नेताले लोकान्तरलाई जानकारी दिए । 

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा सुनको जलहरी राख्ने क्रममा तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट घोटाला भएको भन्ने खालको अभिव्यक्ति दिएको विरोधमा एमालेले शुक्रवार प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको थियो । 

एमालेको विरोधका कारण २० मिनेटका लागि भन्दै मध्याह्न स्थगित भएको बैठक तीन वटा सूचना टाँसेर शनिबार अपरान्हसम्मका लागि स्थगित भएको छ । 
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारका नीति तथा कार्यक्रम पारित गर्नुपर्ने सरकारकै पार्टीले प्रतिपक्षी दलका नेतामाथि लगाएको तथ्यहीन आरोप सम्बन्धमा सरकारले चित्तबुझ्दो जवाफ दिएपछि मात्र संसद अवरोध खुल्ने बताए ।

 ‘सत्तारुढ दलका सांसद्ले प्रतिपक्षी दलको नेतामाथि त्यस्तो गैर जिम्मेवार अभिव्यक्ति दिएको कुरा हामीले सहेर बस्ने । यदि पशुपतिको जलहरीमा सुनको सट्टा पित्तल रहेछ भने छानविन गरेर कार्वाही होस् भनेका छौँ । सरकारले त्यतिपनि नगर्ने ?’ नेम्वाङले लोकान्तरसँग भने ।  

संसदको गतिरोध फुकाउन भन्दै शुक्रबार संसद भवनमा रहेको सभामुख देवराज घिमिरेको कार्यकक्षमा छलफल भएको थियो । सत्तापक्षका सांसदले लगाएको आरोप सम्बन्धमा सरकारले जवाफ दिनुपर्ने एमालेले अडान राखेपछि सहमति जुट्न सकेन ।

एमाले सहमतिमा नआए विरोधकाबीच पारित गर्ने तयारी
जेठ १५ गते संघीय संसदमा वार्षिक बजेट आउनु अघि संसदबाट सरकारका नीति तथा कार्यक्रम पारित गर्नुपर्ने संवैधानिक दायित्व छ । सरकारका नीति तथा कार्यक्रम फेल भए सरकार ढलेको मानिने संसदीय बुझाइ रहन्छ । 
प्रतिपक्षी दलले सानो निहुँमा संसदको अवरोध कायम राखे विरोधकाबीच पारित गर्ने सत्तापक्षको तयारी छ । नेपाली कांग्रेसका एक सांसदले भोलि जसरी पनि नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेको जानकारी दिए । 

शुक्रवार प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम थियो । दिउँसो एकछिन मानव अधिकार आयोगको कार्यक्रममा गएर प्रधानमन्त्री फेरि संसदमा आएका थिए । 

संसद भवनमा रहेको प्रधानमन्त्रीको कार्यकक्षमा कांग्रेसका एक सांसदले जलहरी प्रकरणबारे महालेखा परीक्षाको प्रतिवेदनको फोटोकपी प्रधानमन्त्री, प्रचण्ड तथा उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठको हातमा थमाएका थिए । 

‘महालेखाको प्रतिवेदनको ५१६ नम्बर पेजमा जलहरीमा राख्ने भनिएको ७ किलो सुन हराएको भन्ने विवरण सहितको फोटोकपी बाँढिएपछि संसद भवनमा त्यसैको चर्चा भयो’ कांग्रेसका एक सांसदले भने, ‘नक्कली शरणार्थी प्रकरणलाई डाइभर्ट गर्नको लागि एक जना सांसदले बोलेको विषयलाई उचालिएको बारे त्यहाँ चर्चा चल्यो ।’

salt training

कमेन्ट गर्नुहोस्