
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले मानवअधिकार उल्लङ्घनका घटनाको समाधान गर्न राष्ट्रिय मानवअधिकार आयोगको भूमिका चुनौतीपूर्ण रहेको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगकोे २३औँ वार्षिकोत्सव समारोहको आज उद्घाटन गर्दै उनले मानवअधिकार संरक्षण गर्न आयोगले संविधान र प्रचलित ऐन कानून बमोजिम भूमिका निर्वाह गरेमा सफलता प्राप्त हुने विचार व्यक्त गरे।
प्रदेश प्रमुख खापुङ्गले समाजमा महिला, बालबालिकामा हुने दुव्र्यवहार एवं विभेद्का घटनाले दुःखी बनाउने गरेको चर्चा गर्दै यसलाई अन्त्य गर्न तीन तहको सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले मानवअधिकारलाई नेपालको संविधानले मौलिक हक अधिकारकोका रुपमा व्याख्या एवं सुनिश्चित गरेको छ भन्दै आयोगले मानवअधिकारलाई संरक्षण र विभेद् हटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने विचार राखे ।
आयोगका कोशी प्रदेश प्रमुख पवनकुमार भट्टले प्रदेशमा मानवअधिकारको अवस्था विषयक कार्यपत्र प्रस्तुत गर्दै मानवअधिकार संरक्षण र सम्वद्र्धनको क्षेत्रमा समाजका सबै वर्गको भूमिका अहम र महत्वपूर्ण रहेको बताए । अनौपचरिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का प्रदेश प्रमुख सोमराज थापा, उच्च अदालत विराटनगरका कृष्ण गौतम, शिक्षा समन्वय इकाई विराटनगरका प्रमुख टङ्क गौतमले मानवअधिकाको संरक्षण र सम्वद्र्धनका लागि राज्यले आयोगको भूमिका प्रभावकारी बनाउनुपर्ने सुझाव दिए ।