३१ जेठ २०८३, आइतबार

लगातारको हावाहुरीबाट निराश छन् फलफूल र तरकारी किसान

लगातारको हावाहुरीबाट निराश छन् फलफूल र तरकारी किसान
प्रतिकात्मक तस्वीर

लगातारको हावाहुरीले महोत्तरीका फलफूल र तरकारी किसान निराश भएका छन् ।

जेठ लागीकन प्रत्येक २–३ दिनको फरकमा चलेको हावाहुरीले बग्रेल्ती आँपका दाना झार्नसँगै लहरे तरकारीका बेला (लहरा) हुत्याएर चुँडाएपछि उत्पादन हात नलाग्ने भएपछि किसान निराश भएका छन् ।

पछिल्लो पटक शुक्रवार रातिको हावाहुरीले बग्रेल्ती आँप झारेका छन् । 

फर्सी, लौका, घिरौँला, झिगिँनी, काँक्रा र चिचिन्डा सहितका तरकारी बालीका बेला (लहरा) हुत्याउँदै चुँडाएर नोक्सान गरेपछि किसानको पिरोलो बढेको हो । ‘हेर्नोस् न, जेठ लागीकन दिनहुँजसो हावाहुरीले झारेका आँप टिप्दै दिन जान्छ, मुखमै आएको बाली सखाप भएको छ,’ आज सखारै बग्रेल्ती झरेका आँप टिप्दै भङ्गाहा–४ रामनगरका ६० वर्षीय किसान शुभलाल ठाकुरले भने, ‘जेठ मध्यतिर यत्रो हाहाहुरी त्यति भोगिएको थिएन, खै के हुन लागेको हो !’

अब १५–१६ दिन दुःख काट्दा एउटा बाली हात लाग्छ भन्ने आश पनि मरेको ठाकुर बताउँछन् । तराईमा चाँडै पाक्ने जातको बम्बै आँप जेठ अन्तिममा तयार हुन्छ तर २ हप्ताअघिको हावाहुरीले आँप झारेपछि दुःख लागेको ठाकुरको भनाइ छ ।

महोत्तरीमा जेठमा प्रत्येक २–३ दिनमा हावाहुरी चल्दै आएको छ । बिहीवार साँझ र शुक्रवार रातिको हावाहुरीले झारेका आँप किसान कौडीका दाममा बेच्दैछन् । हुरीले झारेर फुटाएको आँप त मिल्काउनुबाहेक कुनै विकल्प नभएको ठाकुरकै छिमेकी किसान जब्बार शेष बताउँछन् ।

विगतमा चैत–वैशाख हावाहुरीको समय हुने र जेठ लागेपछि त्यति नलाग्ने भोग्दै आएका किसानलाई यसपालि जेठमा लगातार चलेको हावाहुरीले अत्याएको छ । ‘जेठको २ हप्ता नबित्दै ५–६ पटक हावाहुरीले हामीलाई चिल्लीबिल्ली बनाएको छ,’ बर्दिबास–९ पशुपतिनगर टोकीटोलका किसान रामचन्द्र थापामगर भन्छन्, ‘आँप झरे, तरकारीका लहरा चुँडिएर लत्रिएका छन्, भर्खर घोगा लाग्दै गरेका मकैका बोट लडाएर सोतर बनाएको छ ।’

प्रकृति अनुकूल नहुँदा विपदैविपद् खेप्नुपरेको थापाको भनाइ छ । 

हावाहुरीसँगै मेघगर्जन सुनिए पनि पानी भने त्यति नपरेको किसान बताउँछन् । ‘हावाहुरीपछि पानी त परेको छ तर धानको ब्याड राख्नेगरी माटो गालेर परेको छैन,’ गौशाला–१० लक्ष्मीनियाँका किसान महेश्वर महतो भन्छन् ।

जिल्लाको उत्तरी क्षेत्रका बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका फलफूल र तरकारी उत्पादनका पकेटक्षेत्र मानिन्छन् । उत्तरीक्षेत्रका बर्दिबासका खयरमारा, टुटेश्वर, ढुङ्ग्रे, चेरु, माइस्थान, सोनापेटी, भब्सी, पाटु, विजलपुरा र पशुपतिनगर सहितका बस्तीको त मुख्यबाली नै फलफूल (बगैंचा) खेती हो । बगैंचा खेतीमा पनि मुख्य आँप रहँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्