०८ साउन २०८३, शुक्रबार
भारत भ्रमण

प्रधानमन्त्री प्रचण्ड बुधवार भारत जाने, यस्तो छ चार दिने भ्रमण तालिका

प्रधानमन्त्री प्रचण्ड बुधवार भारत जाने, यस्तो छ चार दिने भ्रमण तालिका
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी बुधवार (जेठ १७ गते) भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी मे ३१ अर्थात् जेठ १७ गते भारत भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी १७ गतेदेखि २० गतेसम्म भारतमा रहनेछन् ।

मन्त्रालयका अनुसार भ्रमणमा प्रधानमन्त्री प्रचण्डले समकक्षी नरेन्द्र मोदी, भारतीय राष्ट्रपति द्रौपदी मुर्मुलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री प्रचण्डले जुन १ तारिकमा समकक्षी मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने मन्त्रालयले जनाएको छ ।

सोही दिन मोदीले दिवाभोजको आयोजना गर्ने छन् । 

भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत छ ।

प्रधानमन्त्री प्रचण्ड ३ जुन २०२३ मा काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ । उनी २० गते स्वदेश फर्किने कार्यक्रम छ ।

पुस १० गते प्रधानमन्त्री नियुक्त भएपछि यो उनको पहिलो विदेश भ्रमण हो ।
 

salt training

कमेन्ट गर्नुहोस्