
नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालीकोटमा एफटीटीएच सेवा ‘एनटी फाइबर’ को शुभारम्भ गरेको छ ।
कालीकोटमा बुधवार र जुम्लामा बिहीवार सेवाको शुभारम्भ गरिएको टेलिकमले जनाएको छ ।
टेलिकमको प्रादेशिक निर्देशनालय सुर्खेत, कर्णाली प्रदेशका निर्देशक मिलन श्रेष्ठले दुवै जिल्लामा ग्राहकलाई आवश्यक सीपीई हस्तान्तरण गरी एनटी फाइबर सेवाको शुरुवात गरेका थिए ।
एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी अब त्यस क्षेत्रका सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन् । यसअघि नै कम्पनीले कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा एफटीटीएच सेवा उपलब्ध गराइसकेको छ ।
फाइबर टु द होम (एनटी फाइबर) सेवाको हाल उपलब्ध अफरअन्तर्गतको प्याकमा एकैपटक चारवटा सुविधा लिन सकिन्छ । यसबाट एकैपटक उच्च गतिको इन्टरनेटका साथै टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटासमेत चलाउन सकिन्छ ।
एउटै तारबाट आवश्यकताअनुसार चारवटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान अर्थात ‘अब एउटैमा ३ प्लस १’ सेवा नामाकरण गरेको छ ।
हाल स्प्रिङ अफरअन्तर्गत डाटा सुविधामात्र उपलब्ध भएको एफटीटीएच प्याकेज वार्षिक रु. ८ हजारमा उपलब्ध छ ।
त्यसैगरी एनटीटीभीसहितको प्याकेज लिने ग्राहकलाई वार्षिक रु. १२ हजारमा २० एमबीपीएसको इन्टरनेट, ३ हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।
