
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी गायिका स्मिता दाहालले नयाँ गीत सार्वजनिक गरेकी छिन् । अध्ययनमा व्यस्त रहेकी उनले करिब एक वर्षको अन्तरालपछि शनिवार ‘आँखामा गाजल’ बोलको गीत ल्याएकी हुन् । उनको पछिल्लो गीत ‘हो हो नि माया हो’ चर्चित भएको थियो ।
रोमान्टिक शैलीमा गाइएको ‘आँखामा गाजल’मा राजनराज शिवाकोटीको शब्द र संगीत छ । देवेश राईको एरेन्ज रहेको गीतको भिडियोमा स्मिता स्वयंले मोडलिङ गरेकी छिन् । रोमान्टिक शैलीको यो गीतको भिडियोमा स्मिता र कुन्साङ बम्जनको ‘लभ केमेस्ट्री’ देख्न सकिन्छ ।
सुदिप बरालको छायाँकन र भुपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन् । भिडियो निर्देशन सरोज ओलीले गरेका हुन ।
एक वर्षको अन्तरालपछि सार्वजनिक यो गीतबाट स्मिता आशावादी छिन् । ‘अध्ययनमा व्यस्त भएका कारण नयाँ गीत ल्याउन सकेकी थिइँन,’ स्मिताले भनिन्, ‘एक वर्षको सर्ट ब्रेकपछि नयाँ गीत ल्याएकी छु । रोमान्टिक फ्लेबरमा गाएकी छु । स्रोता-दर्शकले सधैंझैँ माया गर्नुहुन्छ भन्ने आशा छ ।’
‘मायालु तिमी कता छौ’, ‘पानी कुवाको’, ‘मालिङ्गो’ आदि स्मिताका चर्चित गीतहरू हुन् ।