
सरकारले औषधिजन्य प्रयोगका लागि आगामी आर्थिक वर्षमा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ ।
संघीय संसद्को बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट पेश गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका हुन् ।
नेपालमा प्रतिबन्धित गाँजा खेतीलाई वैधानीकरण गर्न संसद्मा आवाज उठ्दै आएको थियो ।
यसअघिको प्रतिनिधिसभामा गैरसरकारी विधेयक नै पेश भएको थियो ।
अर्थमन्त्रीले गाँजा खेतीको सम्भाव्यता अध्ययनको कुरा गर्दा सांसदले टेबल ठटाएर समर्थन गरेका थिए ।
त्यसपछि संसद्को रोस्ट्रममा उभिएका अर्थमन्त्री हाँसे । अर्थमन्त्री हाँसेपछि सांसदहरू पनि गलल्ल हाँसेका थिए ।