२६ जेठ २०८३, मंगलबार

जातीय पहिचान पक्षधरलाई वार्तामा आउन मुख्यमन्त्री कार्कीको आह्वान

जातीय पहिचान पक्षधरलाई वार्तामा आउन मुख्यमन्त्री कार्कीको आह्वान

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामप्रति असहमति जनाउँदै आन्दोलनमा उत्रिएका जातीय पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेका छन् । 

१६औं गणतन्त्र दिवसको अवसरमा मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संवादमा आउन आग्रह गरे ।

‘संविधान र कानूनले प्रत्याभूत गरेका अधिकारसहित गरिएको नामकरणबारे केही विमतिहरू भए आगामी निर्वाचनमार्फत् कानून र संवैधानिक प्रक्रिया अगाडि बढाउन अनुरोध गर्दछु,’ उनले भने, ‘तपाईंहरूलाई आफ्ना हिंसात्मक गतिविधिहरू छाडेर सरकारसँग संवाद र छलफल गर्न आह्वान गर्दछु । हामी संवाद र छलफलबाट नै निष्कर्षमा पुग्न सक्छौं ।’

आइतवार प्रदेशसभा बैठकमा बोल्ने सांसदहरूले आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन सरकारसमक्ष माग गरेका थिए ।

गत फागुन १७ गते प्रदेशसभा बैठकबाट प्रदेशको नाम कोशी राखेपछि जातीय पहिचान पक्षधर आन्दोलनमा छन् । आन्दोलनका क्रममा आइतवार प्रदेशसभा भवन अगाडि प्रदर्शनकारी र प्रहरीबीच दिनभर झडप भएको थियो ।

ठूला समस्या पनि वार्ताका माध्यमबाट समाधान भएको बताउँदै मुख्यमन्त्री कार्कीले वार्तामा आउन आग्रह गरेका हुन् । पहिलो प्रदेशसभाले नाम राख्न नसकेको बताउँदै उनले दोस्रो प्रदेश सभाबाट नाम राखिएको बताए ।

कोशीकै पक्षमा हस्ताक्षर गरेका सांसदहरूले सरकारले बन्दुकको भरमा शासन गरेको भन्दै विरोध जनाउन थालेका थिए । कोशीको पक्षमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले हस्ताक्षर गरेका थिए । नामकरणको विषमा सरकारले वार्ता गर्ने वातावरण नबनाएको भन्दै सत्ता गठबन्धन तथा प्रतिपक्षी दलले विरोध जनाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्