३० जेठ २०८३, शनिबार

बाघ संरक्षणका लागि सडक नाटक प्रदर्शन गरिँदै

बाघ संरक्षणका लागि सडक नाटक प्रदर्शन गरिँदै

१९ वर्षीया अप्सरा स्याङ्ताङलाई पाटेबाघको बारेमा राम्रोसँग जानकारी छ । उनी बाघको बानी व्यहोरा, आहारविहार र बासस्थानका बारेमा पनि जानकार छिन् ।

उनी आफू मात्र नभई अरुलाई पनि बाघबारे राम्रोसँग बुझाउन सक्ने क्षमता राख्छिन् । बाघ संरक्षणका लागि तालिम लिएर सडक नाटक प्रस्तुत गर्न थालेपछि उनले बाघका बारेमा झन् ज्ञान बढेको बताउँछिन् ।

स्नातक तह अध्ययन गरिरहेकी स्याङ्ताङलाई चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको निर्मल ठोरी उपभोक्ता समितिले नाटक प्रस्तुत गर्नका लागि १ हप्ताको तालिम प्रदान गरेको हो । बाघ संरक्षणका लागि सडक नाटक लिएर उनी अहिले आफ्नो गाउँको चोकचौतारामा पुग्ने गरेकी छन् ।

अभियानमा स्याङ्ताङ एक्लो छैनन् । उनीसँगै गाउँका १४ किशोरकिशोरी पनि सडक नाटक देखाउन सहभागी हुने गरेका छन् । उनीहरूले पनि स्याङ्ताङले जस्तै तालिम लिएका छन् । 

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्साको एक मात्र उपभोक्ता समिति हो निर्मल ठोरी  । ‘गाउँमा बाघले निकै दुःख दिन्छ । बाघकै कारण बर्सेनि धनजनको क्षति हुने गरेको छ तर हामी बाघकै संरक्षणमा जुटेका छौं,’ स्याङ्ताङले भनिन्, ‘हामी विवेकशील प्राणी हौं, यसकारण पनि बाघको संरक्षण गर्नुपर्छ ।’

उनले गाउँका चोक–चौतारामा सडक नाटक देखाएर जनचेतना फैलाउँदा धेरैले बाघ संरक्षणको बारेमा जान्ने मौका पाएको बताइन् । ठोरीमा १२ वर्षदेखि १९ वर्षका किशोर–किशोरी सडक नाटक देखाउने अभियानमा छन् ।

ठोरी गाउँपालिका–१ चौताराका सनिस तामाङ वातावरणलाई सन्तुलन राख्नका लागि पनि बाघको संरक्षण गर्नुपर्ने बताउँछन् । उनी पनि सडक नाटकमार्फत बाघका बारे धेरै कुरा जान्न र अरुलाई बुझाउन सक्ने भएको बताउँछन् । सडक नाटक प्रस्तुत गर्दा आफ्नो बौद्धिक क्षमता बढ्ने र सामाजिक रूपमा घुलमिलको वातावरण सिर्जना हुने अनुभव उनले सुनाए ।

सिर्जना मध्यवर्ती बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष घनश्याम अधिकारी पनि किशोर–किशोरीसँगै बाघ संरक्षणको अभियानमा जुटेका छन् । उनी भन्छन्, ‘किशोर–किशोरीलाई अहिलेदेखि नै संरक्षणको भावना जगाउन सडक नाटक निकै प्रभावकारी छ, यसले भावी पुस्तामा संरक्षणको भावना झन् विकास हुने देखिन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्