
सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
बजेटले भन्सार बढाएसँगै अन्तर्राष्ट्रिय बजारमासमेत भाउ उकालो लाग्दा नेपालमा सुन महंगिएको हो ।

सरकारले बजेटमार्फत सुन र चाँदीमा प्रति १० ग्राम भन्सार महसुल वृद्धि गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतवार सार्वजनिक गरेको बजेटले सुनमा प्रति १० ग्राम ३ हजार ९ सय र चाँदीमा १७ रुपैयाँ भन्सार बढाएको छ ।
भन्सार वृद्धि र अन्तर्राष्ट्रिय बजारका कारण सुनमा बुधवार कीर्तिमान मूल्य कायम भएको छ ।
बुधावार तोलामै १ हजार ५ सय रुपैयाँले सुनको मूल्य बढ्दा अहिलेसम्मकै महंगो भएको नेपाल सुनचाँदी व्यवसायी संघले जानकारी दिएको छ ।
महासंघका अनुसार बुधवार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १२ हजार र तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ ।
यसअघि गत २१ वैशाखमा छापावाल सुन एक लाख ११ हजार ८ सय रुपैयाँ प्रतितोलामा खरिद बिक्री भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । मंगलवार प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार १ हजार ३ सय ९५ रुपैयाँ पुगेको छ ।