२६ जेठ २०८३, मंगलबार
प्रधानमन्त्रीको भारत भ्रमण

दिल्लीमा प्रचण्डको पहिलो भेट भारतीय सुरक्षा सल्लाहकार डोभालसँग

दिल्लीमा प्रचण्डको पहिलो भेट भारतीय सुरक्षा सल्लाहकार डोभालसँग

४ दिने औपचारिक भ्रमणको शिलशिलामा प्रधामनन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिल्लीमा भेटवार्ता शुरू गरेका छन् ।

बुधवार अपराह्न दिल्ली पुगेका प्रचण्डले पहिलो भेट प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालसँग गरेका छन् । 

प्रचण्डलाई भेट्न डोभाल प्रधानमन्त्री बसेको होटलमा पुगेका थिए । डोभालको साथमा भारतीय विदेश सचिव विनयमोहन क्वात्रा थिए भने प्रचण्डसँग उनकी छोरी गंगा दाहाल थिइन् । 

सुरक्षा सल्लाहकार डोभाललाई प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वासपात्र र दाहिने हातको रूपमा चर्चा गर्ने गरिन्छ । नेपाल मामिलामा समेत उनले चासो राख्ने गरेका छन् । मोदीसँगको भेटअघि नै प्रचण्डसँग डोभालले कुराकानी गरेका छन् ।

४ दिने औपचारिक भ्रमणमा दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डले भोलि बिहीवार समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । भोलि बिहीवार नै प्रतिनिधिमण्डल स्तरमा वार्ता र केही सम्झौता गर्ने कार्यक्रम छ ।

बुधवार अपराह्न दिल्ली पुगेका प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन् । भारतीय विदेश मन्त्री डा. एस जयशंकर देशबाहिर रहेका कारण स्वागतमा राज्यमन्त्री आएकी हुन् । 

प्रचण्ड बुधवार साँझ दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ । त्यसक्रममा उनले भारतका अन्य नेताहरूसँग भेटवार्ता गर्नेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्