
जनकपुरधाम– तेस्रो चरण अन्तर्गत दुई नम्बर प्रदेशमा असोज २ गते हुने चुनावका लागि बुधबार(हिजो) उम्मेदवारी दर्ता सम्पन्न भएको छ । उल्लास पूर्ण रुपमा सकिएको उम्मेदवारी दर्तासँगै दुई नम्बर प्रदेशको चुनावी चहलपहल बढेको छ ।
चुनावमा उम्मेदवार बन्नका लागि बुधबार उम्मेदवारी दर्तामा केही रोचक दृश्यहरु देखिए ।
मनोनयन दर्ता रातभर चलेको थियो भने एकै परिवारका सदस्य फरक फरक पार्टीकाट उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।
यसैबीच जनकपुर उपमहानगरपालिकामा बुवा र छोरा फरक फरक पार्टीबाट उम्मेदवार बनेका छन् । बुवा–छोरा फरक फरक पार्टीबाट उम्मेदवार बन्नका लागि उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।
जनकपुर उपमहानगरपालिका वडा नम्बर ५ का ६४ वर्षीय ईसुफ धोबीले राष्ट्रीय प्रजातन्त्र पार्टीका तर्फबाट उपमेयर पदका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् भने उनका छोरा २८ वर्षीय ईद मोहम्मद साफीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट जनकपुर उपमहानगरपालिकाको वडा नम्बर ५ को वडाअध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
बुवा छोरा नै फरक फरक पार्टीबाट उम्मेदवार बन्ने भएपछि भोट विभाजित त हुने नै भयो ।
राप्रपाबाट उपमेयरका उम्मेदवार बनेका बुवा ईसुफले आफूले आफ्नै दलको उम्मेदवारलाई भोट दिने बताए । ‘‘म आफ्नो पार्टीका लागि भोट माग्छु, छोरालाई भोट दिन्न ।’’ छोरा ईद पनि आफूलाई उम्मेदवार उठाएको पार्टी राजपाका उम्मेदवारलाई नै मतदान गर्ने बताउँछन् ।
‘‘म मधेश आन्दोलनको सिपाही हो, राप्रपाबाट उठ्नु भएका आफ्ना बुवालाई भोट नदिइ राजपाका उपमेयरका उम्मेदवारलाई भोट दिन्छु ।’’
‘अब मेरो त भविष्य छैन, तर पनि चुनावमा पार्टीका केन्द्रीय नेताले उपमेयरमा टिकट दिएपछि मेरो पनि फर्ज हो की पार्टीप्रति प्रतिवद्ध हुने, न की छोराप्रति ।’ बुवा धोबी भन्छन् ‘ प्रजातन्त्र हो, कसैले कसैलाई रोक्न सक्दैन । मैले पनि छोरालाई रोक्ने कुरा भएन ।’
छोरा साफी पनि भन्छन्, ‘मेरो बुवा आज होईन पञ्चायतकाल देखि नै राप्रपामा आवद्ध हुनुहुन्छ । हेमबहादुर मल्लको निकट भएर काम गर्नुभएको छ । नलड्नुस् भनेर बुवालाई पनि कसरी रोक्ने ?’
उम्मेदवारी दिएसँगै एकै परिवारमा बस्ने अन्य सदस्य भने समस्यामा परेका छन्, कसको पक्षमा लाग्ने भन्नेमा । बुवा र छोरा फरक फरक पार्टीका उम्मेदवार बन्दै आजैबाट प्रचारमा समेत जुटेपछि परिवारका सदस्य कसको झण्डा बोकेर प्रचारमा हिड्ने भन्नेमा समस्यामा परेका हुन् ।