
पर्यटकीय नगरी पोखराको विश्वव्यापी रूपमा चर्चासँग जोडिएको हिमाल हो अन्नपूर्ण । हिमाल आरोहणको क्षेत्रमा जेठो हिमालका रूपमा अन्नपूर्ण प्रथमलाई लिइन्छ ।
सन् १९५० जुन ३ मा फ्रान्सका मोरिस हर्जोेगले अन्नपूर्णको सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढेको हो ।
पर्यटकीय नगरी पोखराको पहिचानसँग अन्नपूर्ण हिमाल प्रत्यक्ष जोडिएका कारण पनि अन्नपूर्ण आरोहण दिवसलाई पोखरा र आसपासका क्षेत्रमा विभिन्न कार्यक्रमका साथ मनाउने गरिएको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए ।
पहिलोपटक आरोहण गरेको दिन जुन ३ लाई प्रत्येक वर्ष टान गण्डकीले निरन्तर रूपमा विभिन्न कार्यक्रमका साथ अन्नपूर्ण आरोहण दिवस मनाउँदै आएको उनको भनाइ छ ।
‘टान गण्डकीको स्थापनाको ३० वर्षयता अन्नपूर्ण आरोहण दिवस विभिन्न कार्यक्रमका साथ मनाउँदै आइएको छ,’ उनले भने, ‘अन्नपूर्ण आरोहण दिवस नेपालकै पर्वतीय पर्यटनको विशिष्ट दिन हो ।’
नेपालमा आउने विदेशी पर्यटकमध्ये करीब ७० प्रतिशत पर्यटक पदयात्राका लागि आउने गरेको र जसमध्ये औसतमा १० प्रतिशत हिमाल आरोहण गर्न आउने गरेका छन् ।
अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै नेपाल विश्वमा नै पर्वतीय पर्यटनको विशिष्ट आकर्षण बन्दै गएको बताउँदै अध्यक्ष पन्थीले यस दिवसको गरिमा र महत्त्वलाई जीवन्त राख्नु अपरिहार्य भएको बताए ।
फ्रान्सेली टोलीद्वारा आरोहण गरिएको अन्नपूर्ण प्रथम हिमालको उचाइ ८ हजार ९१ मिटर रहेको छ । अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मे २९ तारिखमा विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम स्व. तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए ।