
सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालयमै दिवा खाजा खुवाउनुपर्ने निर्णय गरेसँगै विद्यार्थी नियमित पठनपाठनमा आउन थालेका छन् ।
केही दिन पहिले नगर कार्यपालिकाको बैठकबाट विद्यालयमै खाजा खुवाउनुपर्ने निर्णय गरिएको थियो ।
यसअघि खाजा बापतको रकम अभिभावकलाई दिने गरिएको थियो । अहिले विद्यालयले साप्ताहिक तालिका बनाएर ‘जंकफूड’ प्रतिबन्ध गरी पोषणयुक्त खाजा खुवाउन शुरू गरेको छ ।
खाजाको सूचीमा फलफूल, मासु, खिर, जाउलो, चिउरा–भुजा, तरकारी लगायत रहेको श्री आधारभूत विद्यालय लहानका प्रधानाध्यापक जितेन्द्र महतोले बताए ।
‘खाजा नियमित खुवाउन थालेपछि विद्यार्थी संख्या पहिलेको तुलनामा धेरै नै बढेको छ । यसबाट विद्यार्थी खुशी पनि छन्,’ महतोले भने, ‘विद्यालय सञ्चालन हुने अवधिभर नानी बाबुहरु बस्न थालेका छन् । यसले गर्दा हामीलाई उत्साही बनाएको छ ।’
विद्यार्थी नियमित हुन थालेपछि पढाइमा पनि सुधार हुन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवतीप्रसाद चौधरीको भनाइ छ ।
विद्यालय अनुगमनका क्रममा विद्यार्थी संख्या कम देखिएपछि भइरहेका कामलाई फरक रूप दिन गरिएको प्रयासको नतिजा सुखद् भएको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीको भनाइ छ ।