
रंगमञ्च हुँदै फिल्म क्षेत्रमा उदाएर जमेका अभिनेता हुन् बुद्धि तामाङ । वास्तविक नामभन्दा फिल्ममा निर्वाह गरेको ‘हैट’ थेगोबाट दर्शकले उनलाई बढी मात्रामा चिन्दै आएका छन् ।
उनका लीड भूमिका रहेका फिल्महरू कम होलान्, यद्यपि सहायक भूमिकामा सर्वप्रिय कलाकार मानिएका छन् ।
‘कबड्डी’, ‘छक्का पञ्जा’ जस्ता ‘ब्राण्ड’ मानिएका अधिकांश फिल्मको अभिन्न अंग मानिन्छन् उनी । यी फिल्ममा उनी हम्मेसी छुट्दैनन् ।
संख्यात्मक हिसाबले उनले अभिनय गरेका फिल्मको संख्या १०० कटिसकेका छन् ।
केही दिनअघि मात्रै ‘नांगो गाउँ’ फिल्मको छायांकन सकाएर फर्किएका छन्, आगामी शुक्रवार उनी अभिनित २ फिल्महरू ‘वेलकम टु हेम्जाकोट’ र ‘नीरफूल’ एकसाथ प्रदर्शनमा आउँदैछन् । फिल्म प्रदर्शन नजिकिँदै गर्दा प्रचारप्रसारको धपेडीमा छन् बुद्धि ।
‘वेलकम टु हेम्जाकोट’ प्रचारप्रसारको क्रममा हालैको एक मध्याह्न लोकान्तरसँग कुरा गर्दै उनले टीम र फिल्मको कथा मन परेपछि यसमा जोडिएर काम गरेको बताए । उनका अनुसार फिल्म सामाजिक–कमेडी जनरामा बनेको छ ।
‘गाउँमा बरालिएर बस्ने ग्याङभित्रको एक पात्रको भूमिकामा छु, जसको विवाह भएपछि ऋण लाग्छ, विदेश जानुपर्ने बाध्यता हुन्छ,’ उनले आफ्नो भूमिकाबारे हल्का खुलाए ।
जो कोही कलाकार आफ्ना सबै फिल्म चलोस् भन्ने सोच्छन् तर सबै फिल्म सबैले मन नपराउन पनि सक्ने कुरा बिर्सन नहुने धारणा बुद्धिको छ ।
‘दर्शकको आ–आफ्नो रोजाइ हुन्छ । कतिपय हामीलाई बेस्सरी मन परेको फिल्म दर्शकलाई मन नपरेको हुनसक्छ,’ उनी भन्छन्, ‘आर्ट क्षेत्रको विशेषता पनि यही हो ।’
कलाकारले स्क्रिप्ट सुन्दा राम्रो लागेर काम गरेका हुन्छन् तर कहिलेकाहीँ कल्पना अनुसारको फिल्म बन्दैन् । त्यस्ता थुप्रै फिल्मका उदाहरण बुद्धिसँग पनि छन् ।
स्क्रिप्टमा सोचेर कल्पना गरेको कुरा फिल्ममा ६० प्रतिशत मात्रै पनि आयो भने त्यसलाई राम्रो मान्न सकिने धारणा उनको छ ।
कहिलेकाहीँ सोचेकोभन्दा राम्रो कुरा पनि पर्दामा आउने गरेको अनुभव उनले शेयर गरे । ‘लेखकले जसरी क्रियट गरेको छ, निर्देशकको डिजाइन अर्कै हुन सक्छ । निर्देशकले जुन खालको डिजाइन गरेको हुन्छ, त्यो अनुसार कलाकारको पर्फम नहुन पनि सक्छ,’ उनले भने, ‘कलाकारको पर्फमलाई क्यामेरामा कसरी कैद गरिन्छ भन्ने कुराले पनि अर्थ राख्छ । त्यसपछि क्यामेरामा कैद भएको भिडियो कसरी सम्पादन हुन्छ भन्ने कुराले पनि अर्थ राख्छ ।’
उनी राम्रो फिल्म बन्न सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण रहने बताउँछन् । कहिलेकाहीँ यी सबै कुराहरू नमिल्दा फिल्म राम्रो बन्नबाट चुक्ने उनको बुझाइ छ ।
बुद्धिलाई कहिलेकाहीँ आरोप लाग्छ, अधिकांश फिल्ममा उस्तै पात्रको रूपमा देखिए भनेर तर उनी हेर्दा उस्तैउस्तै देखिए पनि त्यो पात्रले सोच्ने तरिका फरक हुने बताउँछन् ।
फिल्ममा काम गर्ने २ वटा तरिका रहने गरेको उनले बताए । एउटा, क्यारेक्टरलाई आफूमा ल्याउनु । दोस्रो, अर्को क्यारेक्टरमा आफू जानु ।
‘क्यारेक्टरमा आफू जाँदा धेरै कुराहरू परिवर्तन गर्नुपर्ने हुन्छ । फिजिकल, भ्वाइस इत्यादि । सोच्ने तरिका त कथाअनुसार फरक भइहाल्छ,’ उनले भने, ‘क्यारेक्टरलाई आफूमा ल्याउँदा धेरै सिमिलर क्यारेक्टर जस्तो देखिन्छ । मैले गरेको क्यारेक्टर प्रायः आफूतिर तानेर गरेको हुन्छु ।’
सुटिङमा गइसकेपछि आफ्नो क्यारेक्टरलाई बलियो बनाउन संवाददेखि लिएर अन्य कुराहरूमा कलाकारको भूमिका रहन्छ । बुद्धि एउटा परिधिमा रहेर कलाकारले सुटिङमा काम गर्ने बताउँछन् ।
... जब ‘भिलेन’ पात्र बन्ने रहर जाग्यो
२८–३० वटा फिल्म खेलिसकेपछि बुद्धिलाई ‘भिलेन’ पात्रको भूमिकामा देखिने रहर जाग्यो । त्यसअघि थुप्रै नाटकमा उनी भिलेन बनेर प्रस्तुत भइसकेका थिए । ३–४ वटा फिल्ममा भिलेन खालको पात्रमा अभिनय गरे । त्यतिबेला उनलाई लागेछ ‘अरे ! भिलेनका लागि मेरो इमोसन अलि नपुग्दो रैछ कि क्या हो ! सोचाइको स्तर अलि पुग्दो रहेनछ कि क्या हो !’ त्यसपछि उनी आफूलाई सुहाउँदो भिलेन पात्रमा मात्र देखिन थाले । यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘दुई नम्बरी’मा उनी यस्तो भूमिकामा देखिए, देख्दा भिलेन पटक्कै नदेखिने तर उसको नियत भिलेन छ । यसप्रकारको क्यारेक्टर आफूलाई मन पर्ने पनि उनले सुनाए । त्यसअघि ‘वीर विक्रम २’मा पनि उनी भिलेन पात्रको रूपमा प्रस्तुत भएका थिए ।
अब बुद्धिलाई कस्तो खालको भूमिका गर्न मन होला ? ‘यस्तो एउटा क्यारेक्टर होस्, जसमा मैले २–३ महिना मेहनत गर्नुपरोस् । त्यसपछि यस्तो विशेष क्यारेक्टर निस्कियोस्, जसको हरेक चिज ओहो भन्ने होस्,’ जवाफमा उनले भने ।

आएका अफर सबै स्वीकार्छन् ?
बुद्धिका संख्यात्मक हिसाबले फिल्महरू धेरै आइरहेका हुन्छन् । जसका कारण आरोप लाग्छ, पैसाका लागि उनी अफर आएका अधिकांश फिल्म खेल्छन् । यद्यपि बुद्धि कलाकारले पैसाका लागि मात्रै काम नगर्ने बताउँछन् ।
बाहिरबाट हेर्दा पैसाका लागि धेरै फिल्म खेलेको जस्तो देखिए पनि धेरै फिल्महरू सम्बन्धका हिसाबले पनि खेलिएको हुने उनको प्रस्टीकरण छ ।
फिल्म बजारमा ब्राण्ड टीम, नयाँ पुस्ता इत्यादि भनेर ‘क्याटोगोरी’ छुट्याएर हेर्ने चलन छ । नयाँ पुस्ताका निर्माता निर्देशकलाई स्टार भनिएका कलाकारहरूले नपत्याउने समस्या देखिन्छ ।
त्यसबेला बुद्धिलाई प्रस्ताव आउँछ, दाइ उहाँहरूले त पत्याउनुहुन्न तर हामीले फिल्म शुरू गर्न चाहान्छौं । अहिले तपाईंले राम्रो गरिदिनुभयो भने राम्रो गर्दै अगाडि जान सक्छौं कि !
‘त्यसबेला उहाँहरूलाई नाइँ भन्ने कुरा पनि भएन । शुरूमा फिल्म नराम्रो होला तर निर्माणमा होमिएको व्यक्ति पछि गएर राम्रो गर्नेे निर्देशक पो बन्छ कि ! त्यो आशा पनि हुन्छ,’ बुद्धिले अगाडि भने, ‘म पनि तपाईंहरूले शुरूआती दिनमा गरेको संघर्ष जस्तै गरिरहेको छु, समय छ भने केही दिन दिनुहोस् न भन्नुहुन्छ । त्यो कुराले पनि कन्भिन्स हुन्छु ।’
चलेका ब्यानरबाट छुट्नु हुँदैन है भनेर उनलाई प्रस्ताव गर्छन् । त्यस्ता व्यानरका अधिकांश फिल्महरूमा उनी छुट्दैनन् । सोहीकारण सुपरहिट फिल्महरू अधिकांशमा उनलाई दर्शकले हेर्न पाएका हुन्छन् । प्रदर्शनका लागि बाँकी रहेका उनका फिल्महरू पनि धेरै छन् ।
छायांकनका लागि जानुपर्ने फिल्महरूको ‘लाइनअप’ पनि लामो छ ।

‘म भावुक मान्छे रहेछु भन्ने हालसालै पत्तो पाएँ’
अभिनेता बुद्धिले आफ्नो इमान्दारितालाई केही फिल्मकर्मी एवं साथीभाइले गलत तरिकाले प्रयोग गर्न खोजेको तीतो यथार्थ समेत लोकान्तरसँग पोखे । केही फिल्मबाट आफूले पारिश्रमिक पाउन बाँकी रहेको बताउँदै आफ्ूसँग साट्न बाँकी चेकहरू धेरै नै रहेको उनले बताए ।
फिल्मको बाँकी पारिश्रमिक र सापटी लिएर फिर्ता नपाएको रकम जोड्दा लाखौं हुन आउने उनले सुनाए । कसैले आवाज बिगारेर सहयोग माग्नासाथ भावुक भइहाल्ने र सहयोग गर्ने बानीले आफैंलाई घाटा पुर्याएको अनुभव उनले शेयर गरे ।
‘म अलि भावुक व्यक्ति रहेछु भन्ने पछिल्लो समयमा मात्र पत्तो पाएँ,’ उनले भने, ‘ए, साथीले त फसाएको पो रहेछ भन्ने पछि मात्रै महसूस गरें ।’
कतिपय चेट साटिएला भनेर आशा मारिसकेको समेत उनले बताए । गत वर्ष मात्रै विवाह गरेका बुद्धिले फिल्म संख्या घटाउने सोच बनाएको केही महिना भइसकेको छ । यद्यपि सोचेको जस्तो नभइरहेको उनले बताए ।
‘पैसाभन्दा पनि कामलाई माया गरौं भन्ने सोच हो,’ उनले भने, ‘विवाह गरिसकेपछि परिवारलाई समय दिउँ, फिल्म संख्या घटाउँ भन्ने सोचेको हो तर के नमिल्दो रहेछ–रहेछ । सोचेजस्तो त नहुँदो रहेछ ।’
उनी फिल्मसँगै बेलाबेलामा नाटकमा समेत अभिनय गरिरहेका हुन्छन् । टेलिसिरियल पनि खेलिरहेका हुन्छन् । मिलेको समयमा रेडियो नाटकमा समेत काम गरिरहेका हुन्छन् । अब फिल्म संख्या घटाउने र टीम बनाएर बरु निर्माणमा हात हाल्ने सोच उनको छ । निर्देशनतिर जाने सोच भने तत्काल नरहेको उनले बताए ।