३२ असार २०८३, बिहीबार

गाउँपालिकाको आयस्रोतको माध्यम बन्दै झरना

जेठ २०, २०८०
भरतपुर
गाउँपालिकाको आयस्रोतको माध्यम बन्दै झरना
प्रतिकात्मक तस्वीर

चितवनमा बिहीवार र शुक्रवार तापक्रम ३९ डिग्रीसम्म मापन गरिएको छ । चर्को घामका कारण मानिसलाई घर बाहिर निस्कन कठिन छ ।

बढ्दो गर्मी छल्न यहाँका स्थानीय इच्छाकामना गाउँपालिका–६ जलविरेस्थित लामो झरनामा जान थालेका छन् ।

गर्मी बढेसँगै झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । 

नारायणगढ–मुग्लिन सडकअन्तर्गत पर्ने जलविरेको १०२ मिटरभन्दा लामा झरना नारायणगढबाट मुग्लिनतर्फ २७ किमी र मुग्लिनबाट नारायणगढतर्फ ७ किलोमिटरको दूरीमा पर्छ । सडकबाट १ किलोमिटर उकालो बाटो हिँडेपछि झरनामा पुगिन्छ । हिँडेरै र गाडीबाट पनि झरनासम्म पुग्न सकिन्छ । 

वीरगञ्जबाट आएकी शिला महतोे झरनाको चिसो पानीमा रम्दै पौडी खेल्न पाउँदा आनन्दको महसूस भएको बताइन् । उनले भनिन्, ‘पहिलोपटक आएकी हुँ, यहाँको झरना देखेर मन लोभिएको छ ।’

सामाजिक सञ्जालमार्फत झरना बारेमा थाहा पाएर साथीहरूसँग घुम्न आएको उनले सुनाइन् ।

विक्रम संवत् २०६९ सालदेखि लामो झरनामा पर्यटकको आगमन बढ्न थालेको हो । झरना अवलोकनका लागि चितवन, धादिङ, गोरखा, तनहुँ, काठमाडौं, नवलपरासी, नुवाकोट, गोरखा, तनहुँ, कास्की, मकवानपुर, पर्सा लगायतका जिल्लाबाट पर्यटक आउँछन् । नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गर्ने लामो दूरीका सवारीसाधन पनि यहाँ रोकिएर झरना अवलोकन गर्न पुग्ने गर्छन् ।

गत वर्षहरूभन्दा यस वर्ष पर्यटकको आगमन बढेको लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले बताए । ‘यहाँ पौडी खेल्न र नुहाउन आउनेको संख्या बढ्दो छ,’ उनले भने, ‘बिदाको दिन र शनिवार औसतमा ५०० र अन्य दिन करीब २०० पर्यटक यहाँ आउने गरेका छन् ।’

झरनामा क्यानोनिङ, क्लाइम्बिङ, स्वीमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङका लागि पर्यटक आउने गरेका उनले बताए । झरना अवलोकनका लागि इच्छाकामनाका वासिन्दाले प्रतिव्यक्ति २५ र अन्य स्वदेशीले प्रतिव्यक्ति ५० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्छ । विदेशीले प्रतिव्यक्ति १०० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ । प्रवेश शुल्कबाट प्राप्त भएको सबै रकम इच्छाकामना गाउँपालिकाले लिने गरेको छ  ।  

झरना पुग्ने सडक निर्माणसँगै शौचालय, चेन्जिङ रुम र तलाउ निर्माण गरिएको छ । अन्य भौतिक संरचना र झरनाको सौन्दर्यकरणका काम पनि गर्ने तयारी गरिएको छ । ‘झरनाको प्राकृतिक स्वरूप नबिग्रने गरी जिपलाइन निर्माणको तयारी गरेका छौं,’ गुरुङले भने, ‘पर्यटकीय गतिविधि बढाउने अन्य संरचना पनि निर्माण गर्ने योजनामा छौं ।’

झरनाकै कारण होटल बढेका छन् भने व्यवसाय पनि बढेको गुरुङ बताउँछन् ।

इच्छाकामना गाँउपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जलविरे झरना पर्यटकको रोजाइको गन्तव्य बनेको बताए । उनले प्रदेश सरकारको सहयोगमा सिँढी, रेलिङ र पौडी पोखरी निर्माण गरिएको जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्