२२ असार २०८३, सोमबार
भारत भ्रमण

दिल्लीबाट फर्केपछि प्रधानमन्त्रीको दाबी : भ्रमण परिणाममुखी, भारतसँग विश्वासको वातावरण बन्यो

'ईपीजीको कुरा उचालेर वातावरण बिगार्नु उचित थिएन'
जेठ २०, २०८०
काठमाडौं
दिल्लीबाट फर्केपछि प्रधानमन्त्रीको दाबी : भ्रमण परिणाममुखी, भारतसँग विश्वासको वातावरण बन्यो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण परिणाममुखी भएको दाबी गरेका छन् । चार दिने भारत भ्रमण सकेर शनिवार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भ्रमण सारभूत रूपमा परिणाममुखी भएको दाबी गरे । ‘म जाँदा जे भनेर गएको थिएँ, त्यो पुरा भएको छ,’ उनले भने, ‘विगतका भ्रमणभन्दा फरक पाएको छु । सारभूत रूपमा परिणाममुखी रहेको छ ।’

उनले नेपाल–भारतबीच देखिएको अविश्वाससमेत हटेको दाबी गरे । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीसँग खुलेर छलफल भएको उनको भनाइ छ । ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग खुलस्त रूपमा कुरा भएको छ । विगतमा विश्वासको संकटजस्तो देखिन्थ्यो । यसपाली खुलेर छलफल भयो । राम्रो विश्वासको आधार बनेको छ,’ उनले भने ।

भ्रमणका क्रममा दुई देशको सीमासम्बन्धी समस्याबारे खुलेर छलफल भएको प्रधानन्त्री प्रचण्डले बताए । सीमा विवादबारे स्वयं भारतका प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलनमै कुरा राखेको उनले स्मरण गरे । ‘सीमासम्बन्धी विवाद हामी सबैको चिन्ता र चासोको विषय हो । यसबारे पनि खुलेरै कुरा भएको छ,’ प्रचण्डले भने, ‘मोदीजीले पनि सबै समस्या समाधान गरिने छ भन्नुभएको छ । धेरैपछि मोदीबाट आएको सीमा सम्बन्धी सकारात्मक कुरा हो ।’

उनले सीमा विवाद समाधानका विषयमा भारत र बंगलादेशको सीमा समस्या समाधान मोडेल पनि एउटा विकल्प हुन सक्ने विषयमा सामान्य छलफल भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका विषयमा प्रवुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदनको विषयमा कुरा राखेको बताए । तर, ईपीजीकै कुरा धेरै उचालेर आर्थिक र द्विपक्षीय सहयोगका अरु क्षेत्रमा भएको परिणाममुखी वातावरण विगार्न नचाहेको उनको भनाइ छ ।

‘ईपीजी हामी सबैको चासोको कुरा हो, मैले आफ्नो ढंगले कुरा नगरेको छैन, आफ्नो ढंगले कुरा गरेको छु, तर यो विषयलाई बढी उचालेर आर्थिक र द्विपक्षीय सहयोगको क्षेत्र विस्तारको जो परिणामुखी वातावरण बनेको बिगार्नु उचित थिएन,’ उनले भने ।

भारतको नयाँ संसद्मा राखिएको अखण्ड भारतको नक्साबारे पनि भन्नु पर्ने ठाउँमा आफूले भनेको उनले बताए । तर, उनीहरू त्यो सांस्कृतिक नक्सामात्रै भएको  बताएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले पत्नी सीता दाहालको स्वास्थ्य ठीक हुन्छ भनेर आफूले महाकालेश्वर मन्दिरमा रुद्राक्ष नचढाएको प्रष्टीकरण दिएका छन् । प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री एनपी साउदको इच्छामा रुद्राक्ष बोकेर गएको बताए । भारत भ्रमणका क्रममा शुक्रबार भारतको मध्य प्रदेश राज्यस्थित उज्जैन सहरमा रहेको प्रसिद्ध महाकालेश्वर मन्दिरमा पूजा गरेका थिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भारतको चारदिने भ्रमणका लागि जेठ १७ गते नयाँ दिल्ली गएका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मू लगायतसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए । भारतीय समकक्षी मोदीसँगको भेटका क्रममा नेपाल र भारतबीच विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्