
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको बीमा क्षेत्रमा पहिलोपटक प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनी भएको छ ।
नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै प्रतिकित्ता २३६.९१ रुपैयाँमा कम्पनीले आफ्नो जारी पुँजीको ३०% हुने १ करोड २० लाख कित्ता शेयर सर्वसाधारणको लागि जारी गर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डको वेबसाइटमा विवरणपत्र प्रकाशनका लागि स्वीकृति भएको उल्लेख गरिएको छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा १ अर्ब १० करोड ५ लाख रुपैयाँ सञ्चिती रहेको छ । जीवन बीमा कोषमा ६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ रहेको छ र कम्पनीको दीर्घकालीन लगानी तथा कर्जा ८ अर्ब ४ करोड ७१ लाख रुपैयाँ रहेको छ ।
तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा १८ करोड २४ लाख रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६९ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ६७ पैसा रहेको छ ।
नेपालको प्रतिष्ठित र अग्रणी व्यवसायिक समूह आईएमई ग्रुपद्वारा प्रवद्र्धित विभिन्न कम्पनीहरूमध्ये आईएमई लाइफ इन्स्योरेन्स कम्पनी पनि एक हो । दक्ष तथा अनुभवी व्यवस्थापनद्वारा सञ्चालित आईएमई लाइफ इन्स्योरेन्सले बीमित तथा शेयरधनीहरूलाई उच्चतम प्रतिफल प्रदान गर्ने लक्ष्य लिएको छ । आर्थिक विकासमा बीमा क्षेत्रबाट अर्थपूर्ण सहभागिता जनाउनु कम्पनीको उद्देश्य रहेको जनाइएको छ ।